Sajhamanch Archive

खेलकुद सचिव सापकोटाद्वारा झापाका पूर्वाधारस्थलको निरीक्षण

Published: in खेलकुद, by .

झापा । युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहन सापकोटाले मेची रङ्गशाला, लखनपुर रङ्गशाला र आधुनिक कभर्ड हल निर्माणस्थल दमकको आइतबार निरीक्षण गरेका छन् ।

सोमबार इलामको सूर्योदय नगरपालिकामा हुन लागेको खेलकुद सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा भाग लिन पूर्व आएका उनले जिल्लास्थित खेल पूर्वाधारको निरीक्षण गरेका हुन् ।

सचिव सापकोटा नेतृत्वको मन्त्रालयको टोलीले भद्रपुरस्थित मेची रङ्गशालामा निर्माणाधिन प्याराफिटको स्थलगत अवलोकन गरी आवश्यक राय सुझावसमेत दिएको छ ।

टोलीले नेपाल प्रहरीका पूर्व एआईजी दमक निवासी अम्बरसिंह साहले सुविधा सम्पन्न अत्याधुनिक शैलीको कभर्ड हल निर्माणका लागि निःशुल्क उपलब्ध गराएको दमक नगरपालिकाको १० कठ्ठा जग्गाको अवलोकन गरेको हो ।

त्यस्तै, टोलीले अन्तरर्राष्ट्रिय मापदण्डको रङ्गशाला निर्माण गर्न नेपाल सरकारले एक करोड रुपैयाँ बजेट विन्यास गरेको लखनपुरस्थित रङ्गशालाको अवलोकनसहित सो विषयमा छलफल गरेको छ ।

उक्त रङ्गशालाको स्थलगत अध्ययनपछि भएको छलफलमा मन्त्रालयका सचिव सापकोटा, दमक नगरका प्रमुख रोमनाथ ओली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापा, दमक नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईंलगायत सहभागी थिए ।

त्यस्तै जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको सचिव सापकोटाको स्वागत तथा सम्मान कार्यक्रममा समितिका अध्यक्ष थापाले झापामा भइरहेका खेलकुद सम्बन्धी गतिविधिका बारेमा अवगत गराएका कार्यालय प्रमुख टहलदास मैनालीले जानकारी दिए ।

सो कार्यक्रममा समितिका उपाध्यक्ष भेषराज भण्डारी, कोषाध्यक्ष धर्मराज शिवाकोटी, सदस्य ज्ञानेन्द्र राई, प्रशिक्षण विभाग प्रमुख टार्जन सुब्बा, विभिन्न खेल विधाका प्रशिक्षकको उपस्थिति थियो ।

इलाममा हुने अन्तरक्रियामा विभिन्न खेल विधाका १५० जना खेलाडी, प्रशिक्षक, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, कार्यालय प्रमुखलगायत सहभागी हुनेछन् ।

अन्तरक्रियामा मन्त्रालयको सचिवस्तरीय टोलीले राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय पदक जित्ने खेलाडीको उत्पादनलगायत खेलकुदसँग सरोकार राख्ने विविध विषयमा छलफल गर्ने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *