Sajhamanch Archive

काँकरभिट्टाका अग्नि पीडितलाई राहत सामग्री प्रदान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

मेचीनगर । गएराति भएको भिषण आगलागीबाट पिडित बनेका झापाको मेचीनगरका २० घरपरिवारलाई राजनीतिक दलसहित विभिन्न सामाजिक संघ–संस्थाहरुले राहत सामग्री प्रदान गरेका छन् ।

मेचीनगर नगरपालिका वडा नं. ६ स्थित काँकरभिट्टाको गोसखान लाइनमा गएराति आगलागी भएको हो । आगलागीमा २३ वटा घर छाप्रा पूर्णरूपमा जलेर नष्ट भएको काँकरभिट्टा प्रहरी प्रमुख डिएसपी महेश थापाले जानकारी गराएका छन् । प्रहरी उपरीक्षक थापाका अनुसार क्षतिको विषयमा प्रहरीको यो प्रारम्भिक अनुमान हो ।

आगलागीबाट पीडित अधिकांश आफन्तकोमा आश्रय लिएर बसेका छन् भने केही पाल टाँगेर बसिरहेका छन् । ती पिडीत परिवारलाई आजै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले पनि राहत सामग्री प्रदान गरेको छ ।

रेडक्रसका झापा अध्यक्ष लोकराज ढकालको नेतृत्वमा राहत सामग्री लिएर आएको टोलीले अग्नि पीडितहरुलाई त्रिपाल, लत्ताकपडा, भाँडा वर्तनलगायतका सामग्री प्रदान गरेको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी उपरीक्षक महेश थापा सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार गस्ती सुरक्षा ८ झापा नम्बर गुल्म काँकरभिट्टाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश घिमिरेलगायतले ती सामग्री प्रदान गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरकारले अग्नि पीडितका लागि उपलब्ध गराउने राहत सम्बन्धित वडा कार्यालयको सिफारिसमा तत्काल वितरण गर्ने बताए । प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले घटनाका बारेमा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई जानकारी गराएको प्रदेश सरकारले गर्ने सहयोगमा कुनै कमी आउन नदिने जानकारी दिनुभयो ।

नगरपालिकाले पनि अग्नि पिडितका लागि प्रक्रिया पुर्याएर राहत उपलब्ध गराउने नगरप्रमुख विमल आचार्यले प्रष्ट पार्नुभयो । कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी झापा अध्यक्ष लोकराज ढकालले गर्नुभएको थियो ।

जिल्ला प्रशासन कार्यालय झापाले राहत वितरण गरेको छ । पूर्णरूपमा जलेका छाप्रा धनीलाई १० हजार रुपैयाँ र आंशिक जलेकालाई ५ हजार राहत वितरण गरिएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

यसैगरी नेकपा मेचीनगरले शुक्रबार राहत रकम वितरण गरेको छ । पार्टीले आगोका कारण पूरै घर जल्ने परिवारलाई नगद १० हजार तथा भाडामा बस्ने परिवारलाई नगद ५ हजारका दरले राहत सामग्री प्रदान गरेको पार्टीले जनाएको छ ।

जसमा १६ घरलाई जनही १० हजारका दरले १ लाख ६० हजार र ४ घरलाई ५ हजारका दरले गरी जम्मा १ लाख ८० हजार रकम हस्तान्तरण गरेको छ । यसैगरी नेकपाकै नेतृत्वमा काँकरभिट्टा बजारमा संकलित ४७ हजार नगद, २० बोरा चामल र २ बोरा लत्ता कपडासमेत अग्नि पीडितलाई हस्तान्तरण गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *