साझामञ्च डट कमको छैटौं स्थापना दिवसः अन्तरसम्वादसहित केक काटेर मनाइयो
Published:
by .बिर्तामोड । झापाको पहिलो व्यावसायिक न्यूजपोर्टल साझामञ्च डट कम आजबाट छैटौं वर्षमा प्रवेश गरेको छ । साझामञ्च डट कम सन् २०१३ अगष्टदेखि परीक्षण गरी २०१४ जनवरी १ मा औपचारिक सुरुवात गरिएको न्यूजपोर्टल हो । अनलाइन पत्रकारिताः अवसर र चुनौति विषयमा अन्तरसम्वादसहित केक काटेर आज साझामञ्च डट कमको छैटौं स्थापना दिवस मनाइएको हो । सञ्चार क्षेत्रका अगुवाहरु, सामाजिक एवम् राजनीतिक व्यक्तित्व र व्यावसायीहरुको गुणात्मक सहभागितामा अन्तरसम्वाद गरिएको थियो ।
साझामञ्च मिडिया प्रालिका अध्यक्ष एकराज कार्कीको अध्यक्षतामा उपाध्यक्ष खड्गप्रसाद दाहालले आमन्त्रितहरुलाई शब्दद्वारा स्वागत गरेपछि अन्तरसम्वाद सुरु गरिएको थियो । अन्तरसम्वादमा अनलाइन न्यूजपोर्टल सञ्चालन गरिरहेका पत्रकारहरुले विज्ञापनमा विभेद रहेकाले पोर्टल टिकाइराख्न समस्या परेको जानकारी गराए । अनलाइन न्यूजपोर्टल र सामाजिक सञ्जाल उस्तै–उस्तै ठान्ने अडिअन्सको प्रवृत्तिमा परिवर्तन नआएसम्म विज्ञापनको अभाव झेल्दै सञ्चालकले लगानी थपिरहनुपर्ने बाध्यता रहेको वक्ताहरुको निष्कर्ष थियो ।
अनलाइन न्यूजपोर्टलका अघिल्तिर अथाह सम्भावनाहरु रहेको औंल्याउँदै अन्तरसम्वाद सुरु गरेका नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेलले अबको पत्रकारिता अनलाइन बिना टिक्न नसक्ने पनि प्रष्ट पारे । ‘आज सबै प्रकारका मिडिया अनलाइनमा नगई धरै छैन, चाहे पत्रिका होस्, रेडियो वा टेलिभिजन नै किन नहोस्’ रेडियो भिजनका प्रबन्ध निर्देशकसमेत रहेका पोखरेलले प्रष्ट पारे ।
अन्तरसम्वादमा सूर्योदय टेलिभिजनका समाचार प्रमुख सन्तोष आचार्य, प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतम, रेडियो साथीका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला, प्रेस युनियन झापाका अध्यक्ष तथा जनआन्दोलन साप्ताहिकका सम्पादक इन्दू पूर्वेलीले आ–आफ्ना विचार व्यक्त गरे ।
यसैगरी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा लोकतन्त्र पोष्टका सम्पादक मोहनकाजी, स्पिक कर्नर डट कमका सम्पादक सुब्रत न्यौपाने, ब्लाष्ट टाइम्स दैनिकका प्रेम आचार्य र मनकामना कलेजका अर्थशास्त्रका प्राध्यापक विजय तिम्सिनाले अनलाइन पत्रकारिताका अवसर र चुनौति विषयमा आफ्ना धारणा राखेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले अनलाइनको गुणस्तरीयता बढाउनु पर्ने जिकिर गरे । अनलाइनको आम्दानी भनेको विज्ञापनमात्रै हो । उनले भने, ‘कतिपय अवस्थामा समाचारको पनि डलर तिरेर विज्ञापन गर्नुपर्छ तर आफूले अनलाइन मिडिया बचाउन विज्ञापन पाउने दिन चाहिँ तत्कालै आउलाजस्तो छैन ।’
सञ्चार क्षेत्रका क्रियाशील व्यक्तिहरुको कुरा सुनिसकेपछि निजी क्षेत्रको प्रतिनिधित्व गर्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, सहकारी अभियन्ता रामचन्द्र उप्रेती र नेकपा बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाईले आफ्ना धारणा राखे ।
वाणिज्य संघका अध्यक्ष भट्टराइले सबै अनलाइन न्यूजपोर्टल विश्वासिलो नभएको जिकिर गरे । भने, ‘म पनि बिहान पहिले आफ्नो रेडियोमा बज्ने समाचारभन्दा अनलाइनमा प्रकाशन गरिएका समाचार मोवाइलमा हेर्छु तर पहिलो पढाइमा नै विश्वास गर्न सक्दिन । सो समाचारको पुष्टि गर्न जरुरी ठानेमा पत्रिका, रेडियो वा टिभीमा समाचार खोज्ने गर्छु ।’ उनको भनाइले न्यूजपोर्टलहरु विश्वसनीय बनाउने चुनौती सञ्चालक र सम्पादकमा रहेको खुलासा भएको छ ।
अर्का वक्ता नेकपाका ज्ञानु प्रसाईले अनलाइन न्यूजपोर्टललाई स्तरीय बनाउनु पनि चुनौती नै रहेको बताए । महत्वपूर्ण घटनाहरु बारे छिटो समाचार दिनेमात्र नभई कतिपय अस्पष्ट विषयमा पाठकहरुले प्रष्ट हुनेगरी बुझ्न चाहेका हुन्छन् भनी समाचार बनाउन पनि आग्रह गरे ।
सहकारी अभियन्ता उप्रेतीले चाहिँ अनलाइनमा पत्रिका पढ्नेदेखि रेडियो सुन्न र टिभी पनि हेर्न पाइने भएकाले विदेश यात्रामा बहुउपयोगी रहने गरेको स्मरण गरे । उनले छिटो समाचार थाहा पाउन अनलाइन न्यूजपोर्टल माध्यम भए पनि कतिपय ‘ब्रेकिङ न्यूज फेक’ हुने गरेकाले विश्वसनियताका अझै संकट रहेको औंल्याए ।
कार्यक्रमका अध्यक्षसमेत रहेका एक नम्बर प्रदेशसभा सदस्य एकराज कार्कीले मिडिया बिना आजको समाज परिकल्पना पनि गर्न नसकिने भएकाले अनलाइनहरुबाट आउने समाचारलाई विश्वसनिय बनाउन सुझाव दिए । अनलाइन न्यूजपोर्टलका अघिल्तिर रहेका चुनौतीलाई सामना गर्न अवसरहरु पनि तम्तयार रहेको देखिन्छ भन्दै उनले समाज रुपान्तरणमा सबै सञ्चार माध्यम महत्वपूर्ण रहेको बताए ।
साझामञ्च डट कमका सम्पादक गोपाल काफ्लेले सञ्चालन गरेको अन्तरसम्वाद कार्यक्रम र छैटौं स्थापना दिवसमा सहभागीहरुले केक काटेर मनाए ।
Comments