लायन्स क्लब अफ बिर्तामोड सिटीलाई मान्यता
Published:
by .बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड सिटीले अन्तर्राष्ट्रिय लायन्सबाट मान्यता पाएपछि आज बुधबार सपथ ग्रहण तथा पद हस्तान्तरण सम्पन्न भएको छ ।
छ महिनाअगाडि बिर्तामोडका ऊर्जाशील युवा मिलेर गठन भएको क्लबलाई अन्तर्राष्ट्रिय लायन्सले हालै मान्यता प्रदान गरेपछि क्लबका ३२५ ए १ का डिस्ट्रिक गभर्नर अनन्तप्रसाद भेटवालले सपथ खुवाएका हुन् ।
२५ सदस्यीय क्लबमा बिर्तामोड क्षेत्रका व्यावसायी, शिक्षासेवी, पत्रकारलगायत सदस्य छन् । लायन्स क्लब अफ कनकाई सुरुङ्गा मातृ शाखाको रुपमा रहेको छ ।
व्यावसायी निरज ओलीको अध्यक्षतामा गठन भएको क्लबले शपथअघि नै दुईवटा परोपकारी काम गरिसकेको छ । बिर्तामोड ३ मा रहेको मुसहर परिवारलाई खाद्यान्न वितरण गरेको थियो भने बिर्तामोडमै रक्तदान कार्यक्रम गरेको थियो ।
क्लबका अध्यक्ष रुपनारायण खतिवडाको अध्यक्षताका भएको कार्यक्रममा प्रमुख अतिथि भेटवालले क्लबको नारा ‘हामी सेवा गर्छौं’ भन्ने मान्यताभित्र रहेर सबैले निःस्वार्थ सेवा गर्नुपर्ने बताए ।
त्यस्तै, नेपालमा मानिसको छाला अभावमा बर्सेनि सयभन्दा बढीले अकालमा ज्यान गुमाउनु परेकाले छाला दान गर्न उनले आग्रह गरे । जलेका मानिसको उपचारमा आवश्यक पर्ने छाला नेपालमा नहुँदा भारतबाट महँगो मूल्यमा ल्याउनुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे । लायन्सकै अगुवाई काठमाडौँमा छाला बैंक सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य जसमाया गजमेरले लायन्सजस्ता क्लबमा महिला सहभागिता बढाउनुपर्ने आवश्यकता दर्शाइन् ।
शपथ कार्यक्रममा बिर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, लायन्सका रिजनल चेयरपर्सन लीलाप्रसाद चिमरिया, निवर्तमान डिस्ट्रिक गभर्नर लीला ढुंगेल, देवी माविका अध्यक्ष ज्ञानुराम प्रसाईं, बलराम कार्कीलगायतले मन्तब्य व्यक्त गरेका थिए ।
प्रथम उपाध्यक्ष घनश्याम चौधरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन कनकाई सुरुङ्गा र बिर्तामोड सिटीका सचिव साजन थापा र भीष्म पौडेलले गरेका थिए ।
Comments