पोल्ट्री दिवसमा कृषि मन्त्रीका अगाडि व्यावसायीको गुनासो
Published:
by .झापा । कुखुराको मासु तथा अण्डामा नेपाल आत्मनिर्भर भए पनि सरकारी निकायबाट प्राथमिकता नपाउँदा अझै पनि किसान र उद्यमीले समस्या भोगिरहेको गुनासो गरेका छन् ।
नेपाली उद्यमीले कुखुराको अण्डा र मासु उत्पादनका लागि एक खर्ब रुपैयाँभन्दा बढी लगानी गरेकोले कूल ग्राह्रस्र्थ उत्पादनमा ४ प्रतिशत योगदान पुगेको पनि दावी गरिरहेका छन् । तर सरकारबाट व्यावसायी र उद्यमीलाई पर्याप्त सहयोग नपाएको पोल्ट्री उद्यमीको गुनासो छ ।
छैटौं राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा दमकमा आज बुधबार सम्पन्न प्रदेश एक स्तरीय भेलामा पोल्ट्री उद्यमीले यस्तो गुनासो गरेका हुन् । भेलामा नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कडेलले नेपालमा अण्डा उत्पादनका क्षेत्रमा मात्रै एक खर्ब रुपैयाँको लगानी रहेको दावी गरे ।
हाल नेपालमा दैनिक छ लाख केजी ब्रोइलर कुखुराको मासु बजारमा आउने गरेको छ भने ३५ लाख अण्डा उत्पादन हुने गरेको तथ्याङ्क छ । तथ्याङ्कले नेपाल कुखुराको मासु र अण्डामा आम्मनिर्भर रहेको देखाउँछ । पोल्ट्री क्षेत्रले वैदेशिक रोजगारीमा जाने युवाको भरपर्दो विकल्पमा लिन सकिने भए पनि राज्यबाट बेवास्ताका कारण यस क्षेत्रका उद्यमी र व्यावसायी धरासायी बन्दै गएको कडेलले बताए ।
कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपंक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरीले कृषकहरुले उठाएका कुरालाई मन्त्री परिषदमा पेश गर्ने र कार्यान्वयनका लागि पहल गर्ने आश्वासन दिइन् । त्यसैगरी पशु सेवा विभागका महानिर्देशक डाक्टर विमलकुमार निर्मलले खुल्ला सिमानाका कारण पोल्ट्री व्यावसायीले भोगिरहेको समस्यलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, त्यसतर्फ आफू लागीपर्ने बताए ।
नेपाल अण्डा उत्पादन संघ प्रदेश १ का अध्यक्ष माघव पराजुलीले किसानभन्दा व्यावसायी बलिया भएका कारण किसान मारमा परेको गुनासो गरे । कुखुराका लागि आवश्यक औषधीको मूल्य अत्याधिक हुनु, अव्यवस्थित रुपमा व्यावसायी बृद्धि हुनु, भरतमा कृषकले अनुदान पाउनु तर नेपालमा अनुदान नपाउनु र बजार प्रतिस्पर्धा हुनुजस्ता समस्याले पोल्ट्री व्यावसायी धरासायी बन्दै गएको पराजुलीले बताए ।
छैटौं राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा संघले बिहान प्रभातफेरी पछि दमक ७ स्थित पृथ्वी निमाविमा अध्ययनरत विद्यार्थीलाई अण्डा वितरण गरिएको थियो । यस्तै, विज्ञहरुबाट कुखुरापालन सम्बन्धी जैविक सुरक्षा र व्यवस्थापनका विषयमा कृषकलाई तालिमसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्ट, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, नेपाल अण्डा उत्पादक संघका केन्द्रीय सदस्य किरण ओली लगायतले मन्तब्य राखेका थिए ।
संघका झापा जिल्ला सचिव राजेन्द्र भण्डारीले सञ्चालन गरेको कार्यक्रममा भरत चम्लागाईंले स्वगत मन्तव्य राखेका थिए ।
Comments