Sajhamanch Archive

नेपाली भाषामाथिको असह्य आक्रमण

Published: in विचार/ब्लग, by .

नेपाली नेपालको राष्ट्र भाषा हो । यो सरकारी कामकाजको भाषा पनि हो । यो भाषा प्रशासनिक कामकाजको आधिकारिक भाषा मात्र होइन, देशैभर जहाँसुकै बोलिने नेपालको एकमात्र भाषा हो । यो सञ्चार माध्यमको भाषा हुनुका साथै साझा सम्पर्कको भाषा हो । अलग अलग भाषाभाषी बीच सम्पर्क र सम्बन्ध गाँस्ने पूल नेपाली भाषाले नै गर्छ । नेपाली भाषा नेपालभित्र सबैले बोल्ने र बुझ्ने भाषा हो ।

यति धेरै कार्य गर्ने साझा सम्पर्क भाषा भए पनि विगत एक दशकदेखि नेपाली भाषाको लोकप्रियताको इष्र्या गर्न र मूल्य महत्वबाट तर्सिएका कतिपय व्यक्ति संघ–संगठन र विभिन्न समूहले प्रत्यक्ष परोक्ष रुपमा प्रहार गर्दै आएका छन् । यसको जनप्रियताको इष्र्या गर्न केही राजनीतिक र जातीय संगठनहरु कम्मर कसेर लागेका देखिन्छन् ।

यसरी सर्वत्र यत्रतत्रबाट नेपाली भाषामाथि वक्रदृष्टि बोकेका कतिपय संघ–संगठनले आइएनजिओबाट डलर कमाई गरेकोसमेत बुझिन्छ । अझ कतिपय संगठन त जातीय र भाषिक रुप धारण गरी हाम्रो धर्म संस्कृति र भाषा माथि सिधै खनिएको देखिन्छ । यो पंक्तिकारले नबुझेको तथ्य के हो भने नेपाली भाषा माथि किन यसरी आक्रमण भइरहेछ ।

अन्य जात जातिका मातृभाषाका वक्ताहरु पनि नेपाली मातृभाषाका रुपमा बोल्दै व्यवहार गर्दै आएका छन् । धेरै आदिवासी जनजातिहरु नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गर्छन् । ती नेपाली मातृभाषाहरु आफ्नो भाषा प्रयोग गर्न छाडेर नेपाली नै साझा सम्पर्कको भाषाका रुपमा लिन्छन् । कतिपय नेपाली मातृभाषीहरु उनीहरुका मातृभाषा नै बोल्दैनन् र बुझ्दैनन् पनि ।

उनीहरुलाई नेपाली भाषा नै सहज लाग्छ र नेपाली भाषालाई नै प्रेम गर्छन्, व्यवहारमा रुचाउँछन् । यसै कारण पनि होला, कतिपय विदेशी युरोपियन र भारतीय नेपाली भाषा समाप्त गर्न अभियानमा लागेका छन् । वास्तवमा यति धेरै आक्रमण किन भइरहेको छ ? नेपाललाई संघीयतामा लगेर जातीय भाषिक राज्य निर्माण गरी नेपाली भाषालाई साँघुरो घेराभित्र राख्ने काम त्यसभित्रकै धेरै जातीय र भाषिक संगठन लागेका छन् ।

अझ हिन्दीलाई मधेस प्रदेशको सरकारी कामकाजको भाषा बनाएर नेपाली भाषाको लोकप्रियता घटाएर हिन्दी भाषाको प्रवाह बढाउने पक्षमा छन् । मधेसी समूहका राजनीतिक दलहरु त प्रतक्ष्यरुपमा घोषित अघोषित रुपमा लागेका छन् । अझ भारतीय उक्साहटमा नेपाली भाषा संकुचित गर्ने दाउमा छन् । उनीहरु हजारौं वर्ष अघिदेखि बोलिँदै र प्रयोग हुँदै आएको हाम्रो भाषा त्यति सजिलै कमजोर हुँदैन । यसको लोकप्रियता झन् झन् बढिरहेको छ ।

हाम्रो राष्ट्रिय भाषा माथि प्रहार गर्ने अर्को संगठन अंग्रेजी विद्यालयहरु हुन् । अंग्रेजी भाषा सिक्नु जान्नु बोल्नु राम्रो हो, तर त्यसका निम्ति भाषालाई हेला गर्नु वा अवमूल्यन गरिरहन जरुरी छैन । निजी बोर्डिङ स्कूल र कलेज कम्पाउण्डमा नेपाली भाषा बोल्न दिइँदैन । विद्यालय परिसरभित्र नेपाली बोल्नसम्म नपाउने नियम बनाइएको हुन्छ । नेपाली भाषामा बोल्नेहरुलाई हेला वा अवहेलना गर्ने, घृणा गर्ने र बहिस्कार गर्नेदेखि नेपाली बोलेमा सजाय दिनेसम्मका दूव्र्यवहार हुने गरेका छन् ।

नेपाली बोल्नेलाई वहिस्करण वा तिरस्कार गर्ने अनि नेपाली त कुनै पनि भाषा नै होइन, पढ्ने विषय नै होइन भनेर हेल ागर्ने गरिन्छ । निजी विद्यालयले एउटा पिरियडमा सरकारी बाध्यताले नेपालीमा पढाई लेखाइ गरिन्छ । यसैले गर्दा अबको दुई दशक पछि नेपाली भाषा पाखा पर्वतमा मात्र बोलिने छ । पखेरा पर्वत भाषालय कक्षा कोठामा नै कुनै शिक्षक विद्यार्थीहरुले नेपाली भाषा बोलेका कारणबाट पिडित बनिरहेछन् । राष्ट्रिय भाषाको योभन्दा ठूलो बेइज्जति के हुन सक्छ र ?

(लेखक प्रसाई मनकामना कलेज बिर्तामोडका सहायक क्याम्पस प्रमुख हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *