Sajhamanch Archive

प्रधानमन्त्री ओली संसदमा ‘केही गर्न खोजिन्छ– सोधिन्छ, त्यो किन गरेको ?’

Published: in मुख्य समाचार, राजनीति by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने सरकारको मूल दायित्व भएको दोहोर्याएका छन् । त्यसको लागि सुशासन र विकासको महाअभियान आवश्यक रहेको उनको तर्क छ ।

प्रतिनिधिसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै त्यसको प्रभावकारी कार्यान्वयन र आर्थिक प्रगतिको दिशामा अघि बढ्नु सरकारको कार्यभार रहेको जिकिर गरेका हुन् । यस आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अर्धबार्षिक समीक्षाको क्रममा सरकार रहेको भन्दै आफ्नो काममा सफल वा असफल, कामकै कारणले हुने प्रधानमन्त्रीले बताएका छन् ।
“के हुँदा सफल र के हुँदा असफल भएको ठान्ने, यसलाई जाँच्ने कसी वैज्ञानिक विधिबाट तय गरिएको सूचक हो ?” प्रधानमन्त्रीले ओलीले भनेका छन्, “सूचकहरु कै आधारमा नीति तथा कार्यक्रम र बजेटको कार्यान्वन सही छ या गलत, त्यसको टुङ्गो लाग्ने हो ।”

गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा राजस्व संकलनमा ३२ प्रतिशत वृद्धि भएको भन्दै प्रधानमन्त्रीले चालू आर्थिक वर्षको ५ महिनामा पूँजीगत खर्चको वृद्धिदर २५ दशमलव ३३ प्रतिशत रहेको पनि जानकारी गराए । यसैगरी, सरकारी खर्च ३४ प्रतिशतबाट १४ प्रतिशतमा झरेको, गतवर्षको तुलनामा मूल्य बृद्धि घटेको, गतवर्षको मूल्य बृद्धि ४ दशमलव २ प्रतिशत रहेको र यसवर्ष ३ दशमलव ७ प्रतिशत मात्र रहेको प्रधानमन्त्रीले तथ्यांक सुनाए । उनले भनेका छन् ‘यो वर्ष आर्थिक वृद्धिदर ८ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको छ ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना देख्नु अपराध नभएको बताउँदै प्रधानमन्त्री ओलीले सत्ता सञ्चालनको जिम्मा पाएकोले उक्त भिजन लागू गर्ने प्रयत्न गर्नु आफ्नो कर्तव्य भएको पनि सुनाएका छन् । “सुखद् परिणामको उपभोग हामी सबै मिलेर गर्ने हो ।

राज्यलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउनेभन्दा अरु हाम्रो ‘स्वार्थ’ के हुन सक्छ ?” प्रधानमन्त्रीले आफ्नो सम्वोधनमा भनेका छन्, “पछिल्लो अवधिमा मैले केही अनौठो व्यवहारको अनुभूति गरेको छु । सरकार के गर्दैछ, पत्तो भएन– प्रश्न उठाइयो । के गर्दैछ भन्ने जवाफ दिन्छु । अनि प्रतिप्रश्न आउँछ – प्रधानमन्त्री किन बोलेको ? बोल्न नहुने रहेछ क्यारे भन्ने ठानेर चुप रहन्छु, प्रश्न उठान्छ – खै जवाफ दिएको ? केही गर्न खोजिन्छ – सोधिन्छ, त्यो किन गरेको ? केही नगर्दा त प्रश्न उठ्ने नै भयो – खै काम गरेको ?”

प्रधानमन्त्री ओलीले मुलुक निर्माणमा सहभागी हुन प्रतिपक्षलाई पनि आह्वान गर्दै त्यसका लागि जस्तोसुकै निर्णय गर्न सरकार तयार रहेको संसदबाटै घोषणा गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *