Sajhamanch Archive

मौरीपालकले मागे महको गुणस्तर जाँच्ने मेसिनः कृषि मन्त्रीले भनिदिए हुन्छ– सरकारले दिन्छ

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by .

झापा । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले किसानको माग अनुसार महको गुणस्तर जाँच गर्ने मेसिन सरकारले उपलब्ध गराउने आश्वासन दिएका छन् । नेपाल मौरीपालक महासंघको २०औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय मौरीपालक किसान सम्मेलनको आज झापाको बिर्तामोडमा उद्घाटन गर्दै मन्त्री खनालले यस्तो आश्वासन दिएका हुन् ।

‘मह उत्पादन गर्नु व्यावसाय मात्र होइन, जीवनसँग–स्वास्थ्यसँग जोडिएको विषय हो । त्यसैले मह गुणस्तरीय हुनुपर्छ । महको गुणस्तर जाँच गर्ने मेसिन सरकारले उपलब्ध गराउँछ । यतिमात्र होइन, सरकारको तर्फबाट योजना बनाएर नीतिगत व्यवस्था गरिन्छ । प्राविधिक व्यवस्थापन गरिन्छ । किसानलाई प्रशिक्षण गरिन्छ । उत्पादनको योजना बनाइन्छ अनि देशैभर मौरीपालन प्रबद्र्धन गरेर महको अन्तर्राष्ट्रिय बजार खोजिन्छ । तपाईं ढुक्क भए हुन्छ’ कृषि तथा पशुपन्छी विकास मन्त्री खनालले मौरीपालक किसानलाई ढाडस पनि दिएका छन् ।

मन्त्री खनालले मौरी चरनको क्षेत्रमा विषादी प्रयोग गर्ने जो कोहीलाई जरिवानासहित जेल सजायको ब्यवस्था गर्ने गरी कानून निर्माणको तयारीमा सरकार रहेको पनि बताए । उनले आयात न्यूनीकरण गर्दै स्वदेशी महलाई बजारीकरणमा सहयोग गर्नसमेत सरकार मातहत निकायलाई निर्देशन गर्ने बताए ।

मौरीपालक किसानको सम्मलेन उद्घाटन गर्न आएका मन्त्री खनालले केहीबेर मौरीको घार पनि हेरे । आयोजकले मौरीको घार खोलेर सम्मेलनको उद्घाटन गर्न आग्रह गरेकाले मन्त्री खनालले घार खोलेर कार्यक्रमको उद्घाटन गरिदिएका हुन् । सो अवसरमा मन्त्री खनालले मौरीको घार, चाका, मह, मौरीको जात अनि प्रशोधित महको स्टलहरु अवलोकन गर्न चुकेनन् ।

नेपाल मौरीपालक महासंघका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलको अध्यक्षतामा भएको वार्षिक साधारणसभा तथा राष्ट्रिय मौरीपालक किसान सम्मेलनमा उनले महासंघको संस्थागत स्वरुप, व्यावसायको अवस्था, प्रमुख समस्याहरु, नीतिगत समस्याहरु तथा समाधानका लागि चालिनुपर्ने कदमहरुका बारेमा प्रतिवेदन प्रस्तुत गरे ।

प्रतिवेदनमा उल्लेख भएअनुसार देशभर एक लाख ७० हजार गोला मौरी रहेको र तीबाट वर्षेनी २५ सय मेट्रिक टन मह उत्पादन गरिँदै आएको छ । मौरीपालन व्यावसायबाट महको साथै मैन, परपोलिस, पराग, शाही खुराक एवम् मौरी विष उत्पादन गरी विदेशसमेत निर्यात गर्न सकिने अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

मौरीपालक किसानले मह उत्पादन गर्न विदेशबाट कुनै पदार्थ आयात गर्नुनपर्ने, भूमिहीन तथा न्यून आय भएका जोकोहीले गर्नसक्ने भएकाले यसतर्फ दिन प्रतिदिन किसानहरु आकर्षित भएको पनि प्रतिवेदनमा जनाइएको छ ।

महासंघका महासचिव मोहनराज खनालले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित अतिथि एवम् प्रतिनिधिहरुलाई उपाध्यक्ष देवी दाहालले शब्दद्वारा स्वागत गरेकी थिइन् । आफ्नो मन्तब्यका क्रममा दाहालले यदि मौरी मानिसको वरपर रहेन भने मानिस १२ वर्षभन्दा बढी नबाँच्ने वैज्ञानिक ठम्याईलाई आत्मसाथ गर्न आग्रह गरिन् । उनले सरकारको अभियान पनि सबै नेपालीलाई स्वरोजगार बनाउने भएकाले मौरीपालन तर्फ आकर्षित किसानलाई सुलभ कर्जा उपलब्ध गराउनु पर्ने माग गरिन् ।

झापाको शिवसताक्षी नगरपालिका ३ दूधेमा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाका व्यवस्थापक समेत रहेकी महासंघका केन्द्रीय उपाध्यक्ष दाहालले प्रदेशस्तरमा मह प्रशोधन केन्द्रको स्थापनामा सरकारको ध्यान जानुपर्ने बताइन् ।

प्रतिनिधि किसानको आक्रोस र गुनासो

भरतपुरको चितवनमा मुख्य कार्यालय रहेको मौरीपालक महासंघमा देशैभरका मौरीपालक किसान आवद्ध रहेका छन् । साधारणसभा तथा राष्ट्रिय मौरीपालक किसान सम्मेलनमा सहभागी हुन जम्मा भएका किसानहरुले प्रतिनिधिमुलक ढंगबाट उद्घाटन समारोहमा नै कृषि मन्त्री खनाललाई पेशागत व्याथा खुलेर राख्न पाएका थिए ।

सुर्खेतका प्रेमकुमार आचार्यले चिनी पगालेर मह भनी बेच्ने ठगलाई पक्रेर प्रहरीमा बुझाउँदा आफूले प्रमुख जिल्ला अधिकारीबाट उल्टै मह र चिनीको पाक कसरी छुट्यान सक्नुभयो भनी गरिएको प्रश्नले संकट सिर्जना गरिदिएको सुनाउँदै महको गुणस्तर जाँच्ने मेसिन उपलब्ध गराउन सरकारसँग माग गरे ।

यस्तै चितवनकी गीता देवकोटाले मौरीपालक किसानका मौरी चरनमा नै विष हालेर मारिदिने गिरोह सक्रिय रहेकाले खोजी गरी कडा कारवाही हुनुपर्ने माग गरिन् । उनले मौरीपालक किसानको नाममा आउने अनुदान वास्तविक किसानसम्म नआएको जानकारी गराउँदै देखावटी किसानले पहुँचको भरमा पैसा कुम्ल्याउँदै आएको बताइन् ।

अर्का किसान झापाका मोहन तिम्सिनाले मह उत्पादनको लागत घटाउन, बजारीकरण गर्न, विदेशबाट आयात हुने कमसल महलाई भन्सारमा नै रोक्न सरकारले चासो दिएमा स्वदेशमा उत्पादित महले आत्मनिर्भर बन्न सकिनेतर्फ मन्त्रीको ध्यानाकर्षण गराए ।

चितवनका शिवराज भण्डारीले आफ्नो जिल्लालाई मौरीपालन सुपरजोन घोषणा गरिए पनि ८० प्रतिशत वास्तविक किसानलाई पाखा लगाएर अन्यले हालीमुहाली गरिरहेको सुनाए । मौरीपालन व्यावसायलाई राज्यले उपेक्षा गरेको बताउँदै भण्डारीले भने, ‘मन्त्रालयले ५८ बुँदा स्वेतपत्र जारी गर्दा मौरी र महभन्ने शब्द एक ठाउँमा पनि अटाएको छैन । यदि मह मानव स्वास्थ्यका लागि अतिउत्तम खाद्यवस्तुमा पर्छभने यसका उत्पादक किसानलाई राज्यले संरक्षण गर्नु पर्छ कि पर्दैन ?’

दुईजनालाई सम्मान

नेपाल मौरीपालक महासंघको २०औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय मौरीपालक किसान सम्मेलनको अवसरमा झापाका दुईजना सम्मानित भएका छन् ।

झापामा मौरीपालन व्यावसाय भित्राउने किसान अमरदिप भेटवाल र तत्कालिन कृषि विकास कार्यालय झापाका अधिकृत राजेन्द्र खरेललाई सम्मान गरिएको हो ।

उनीहरु दुवैजनालाई झापा शाखाको तर्फबाट कदरपत्रसहित दोसल्ला ओडाएर नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले सम्मान गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *