Sajhamanch Archive

फरक क्षमताका विद्यार्थीहरुलाई शिवांश स्मृति प्रतिष्ठानको सहयोग

Published: (Updated: ) in समाज by .

कनकाई । झापाको बिर्तामोड १० मा रहेको विराट आधारभूत विद्यालयमा अध्यनरत फरक क्षमता भएका ४५ जना विद्यार्थीलाई शिवांश स्मृति प्रतिष्ठानले आज विद्यालय पोशाक तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

१० महिनाको कलिलै उमेरमा निधन भएका शिवांश विमलीको स्मृतिमा परिवारले सो प्रतिष्ठान स्थापना गरेका हुन् । प्रतिष्ठानका संरक्षक नरप्रसाद बिमली र सुनिता बिमलीले अक्षकोषबाट प्राप्तहुने ब्याजबाट प्रत्येक वर्ष विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

सात लाख रुपैयाँको अक्षयकोष रहेकोमा कोष बृद्धि गरी १० लाख रुपैयाँ बनाउने पनि सो अवसरमा जानकारी दिइएको छ ।

प्रतिष्ठानले कनकाई नगरपालिका ८ लक्ष्मीपुरको हिमाली आधारभूत विद्यालयमा आज कार्यक्रम आयोजना गरेर सुस्तमनस्थितिका ती ४५ विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्री प्रदान गरेको हो ।

शिवांश बिमलीको तेस्रो स्मृति दिवसको अवसरमा आयोजित सो कार्यक्रममा कनकाई नगरपालिकाका उपप्रमुख मन्जु प्रसाई एवम् वडानम्बर ८ का अध्यक्ष प्रेम कटुवालले ती सामग्री हस्तान्तरण गरेका हुन् ।

२०७१ फाल्गुन २८ गते डेनमार्क जन्मिएका शिवांश ब्रेन ट्युमरको कारण १० महिनाको उमेरमा पुष २५ गते उपचारको क्रममा निधन भएको थियो ।

सोही कार्यक्रममा दिवंगत छोरी प्रिति कटुवालको स्मृतिमा आमा शान्त कटुवालले पनि हिमाली आधारभूत विद्यालयमा कक्षा १ र २ मा अध्ययन गर्ने बालबालिकाहरुका लागि ५० थान न्यानो कपडा स्विटर प्रदान गरेकी छन् ।

त्यसैगरी समीक्षा फाउण्डेशनले पनि सोही कार्यक्रममा हिमाली आधारभूत विद्यालयमा अध्यनरत फरक क्षमताका बालबालिकाको लागि २१ जोर न्यानो कपडा प्रदान गरेको छ । फाउण्डेशनका संरक्षक धर्म शिवाकोटीले ती सामग्री विद्यार्थीलाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, प्रकाश उप्रेती र हरिहर पराजुलीले पनि सो विद्यालयका ९ देखि १४ वर्ष उमेर समूहका विद्यार्थीलाई सर्ट, पेन्टको कपडा प्रदान गरेका छन् ।

कार्यक्रममा इन्द्र बस्नेत,नरेश भट्टराई र रमेश दाहालले पनि सो विद्यालयका विद्यार्थीहरुले प्रयोग गर्न पाउने गरी हिटर, म्याट लगायतका सामग्री प्रदान गरेका प्रधानाध्यापक केशवप्रसाद ओझाले जानकारी दिएका छन् ।

बिमली प्रतिष्ठानका महासचिव सरोज बिमली, उपध्यक्ष कृष्ण बिमली , संचारकर्मी लिला अनमोल, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष पार्वता बिमली, सुनिता सिग्देललगायतले आफ्नो मन्तब्यमा मानवीय मनका धनी दाताहरुको मुक्त कण्ठले प्रशंशा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *