आमाको किरियापुत्री छोरीः कपाल मुण्डन गरेरै बसिन् सांसद उषाकला राई
Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by गोपाल.
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतृ तथा प्रदेशसभा सांसद उषाकला राईले कपाल मुण्डन गरेर आमाको किरियापुत्री बसेकी छिन् । सांसद राईकी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा उपचारको क्रममा राजधानीको एक अस्पतालमा निधन भएको हो ।
परम्पराअनुसार दिवंगत आमाबुवाको काजकिरिया छोराले गर्ने प्रचलन छ । सांसद राई पुरानो मान्यता तोडेर किरिया बसेकी हुन् । सांसद राईका दाजुभाइ छैनन् ।
उषाका श्रीमान एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले उषाको कामलाई महान् भनेका छन् । सामाजिक सञ्जालमा तस्बिर हाल्दै लेखेका छन्, ‘साँच्चै महान् हुनुहुन्छ ।’
महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनि व्यवहारिक हिसाबले अन्त्य गर्न तपाईंहरू जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्ने उनले लेखेका छन् ।
तामाङले फेसबुकमा लेखेका छन्, ‘उषाजी तपाईं साच्चै महान् हुनुहुन्छ । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनि व्यवहारिक हिसाबले अन्त्य गर्न तपाईंहरू जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रति सम्मान र समर्थन छ ।’
सांसद राई अब ५ दिनसम्म काठमाडौंमा क्रियापुत्री बस्ने र खोटाङ जन्मघर जाने भएकी छिन् । सांसद राई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानुनी हिसाब अन्त्य गर्नका लागि लामो समयदेखि लड्दै आएकी छिन् ।
Comments