सहाराको साधारणसभाः आगामी वर्ष ९ अर्बको वासलात बनाउने लक्ष्य
Published:
by .बिर्तामोड । शेयर सदस्य संख्याका आधारमा नेपालको सबैभन्दा ठूलो सहकारी संस्था सहारा नेपालको आज २२औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलको अध्यक्षता तथा नेफ्स्कोनका सञ्चालक घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा साधारणसभा उद्घाटन गरिएको हो ।
झापाको बिर्तामोड नगरपालिका २ चारपानेमा मुख्य कार्यालय रही इलाम, मोरङ, सुनसरी, उदयपुरलगायत ६ जिल्लालाई कार्यक्षेत्र बनाएको संस्थामा हाल एक लाख ४० हजार हाराहारी सदस्य रहेका छन् । संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा करिब ६ अर्ब ९२ करोड ३९ लाख रुपैयाँ भन्दा बढीको वासलात निर्माण गर्न सफल भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका अध्यक्षले वार्षिक प्रतिवेदन तथा सचिव एवम् कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुुन् ।
कार्यकारी प्रमुख गिरीले संस्थाले अर्कोवर्षदेखि यो प्रकृतिको नभई क्षेत्रीयस्तरमा साधारणसभ ागर्ने नीति अंगिकार गर्ने बताएका छन् । सहकारीको संघीय नियमावली तथा प्रादेशिक ऐन आएसँगै सहारालाई प्रदेश एक स्तरीय बनाउने, पाँच लाख सेयर सदस्य बनाउने तथा ९ अर्बको वासलात बनाउने लक्ष्यका साथ संस्थाले काम गरिरहेको कार्यकारी प्रमुख गिरीले जानकारी गराए ।
मुलुककै नमूना र भरोसायोग्य सहकारी बनाउन आफूहरु तल्लिन रहेको भन्दै सचिव गिरीले सामाजिक सुरक्षामा जन्मदेखि मृत्युसम्मका सबै सन्दर्भमा सहाराको साथ रहने कार्यक्रमहरु तयार गरी कार्यान्वय गरिँदै रहेको उद्घोष गरे ।
साधारणसभामा उद्घाटन मन्तब्य राख्दै नेफ्स्कोनका केन्द्रीय सञ्चालक तथा झापा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारीले सहारा नेपालले सहकारीमा विधि, प्रविधि तथा आधुनिकताको नेतृत्व गरिरहेको चर्चा गरे । सहाराले वित्तीय क्षेत्रका साथै समाज रुपान्तरण र सामाजिकीकरणमा ठूलो योगदान गरिरहेको अधिकारीको कथन छ । हामी केही बुझ्न अध्ययन गर्न विदेश जान्छौं तर केही विदेशीहरु सहकारी अभियान बुझ्न सहारामा आउन इच्छुक रहेको बताए ।
सो समारोहमा प्रदेश सांसद हिरा थापा, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपाललगायतले आ–आफ्ना धारण राखेका थिए । सञ्चालक सदस्य चित्रकला ओली र शुक्र तामाङले सञ्चालन गरेको उद्घाटन समारोहमा आमन्त्रित अतिथिहरुलाई वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले स्वागत गरेका थिए ।
संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक भरतकुमार भट्टराईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने बालकल्याण माविका छात्रछात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।
प्रोफेसर मोहम्मद युनुस सहारा पुरस्कार मोरङकी लीला राजवंशीलाई
विगत केही वर्षदेखि संस्थाले प्रदान गर्दै आएको ५१ हजार रुपैयाँ राशिको प्रोफेसर मोहम्मद युनुस सहारा पुरस्कार मोरङकी लीला राजवंशीलाई प्रदान गरिएको छ । साधारणसभा उद्घाटन समारोहमा परिश्रमी तथा उद्यमी कृषक महिला राजवंशीलाई कदरपत्रसहित नगद पुरस्कार प्रदान गरिएको हो ।
साधारण कृषक परिवारकी लीलादेवीले व्यावसायिकरुपमा च्याउ खेती, तरकारी खेती र माछा पालन गरेर सकारात्मक आर्थिक परिवर्तन गरी उदाहरणीय बनेकाले उजलाई सो पुरस्कार प्रदान गरिएको हो । उनी संस्थाको लघुवित्त कार्यक्रमतर्फकी सदस्य हुन् । पुरस्कार ग्रहण पछि उनले सहाराले नयाँ केही गर्न हिम्मत दिएकाले नै हामीले आर्थिक उपार्जन गर्न सकेको भनाई राखिन् ।
Comments