भद्रपुरमा टी–२० क्रिकेटः वडा नम्बर ८ क्वाटरफाइनलमा
Published:
by .भद्रपुर । भद्रपुरमा जारी प्रथम वडास्तरीय टी–२० नकआउट क्रिकेट प्रतियोगितामा वडा नम्बर ८ क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
भद्रपुर माविको खेल मैदानमा भइरहेको खेलमा वडा नम्बर १० लाई ७ रनले पराजित गर्दै वडा नम्बर ८ क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिला ब्याटिङ्ग रोजेका वडा नम्बर ८ ले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १२६ रन बनाए ।
आशिस बरुवालको अर्धशतक पारीले टिमको स्कोर सम्मानजनक अवस्थामा पुग्यो । उनले ६ चौका प्रहार गर्दै ५४ बलमा ५८ रन बनाए ।
विक्की महतोले ३ छक्का र एक चौका प्रहार गर्दै ३२ बलमा ३७ रन र मौसम अकत्तरले दुई चौका प्रहार गर्दै ४ बलमा १० बनाए ।
वडा नम्बर १० का तर्फबाट सुशान्त न्यौपाने ३ ओभरमा १७ रन खर्चिएर ३ विकेट र विनोद राजवंशीले ४ ओभरमा २२ रन खर्चिएर २ विकेट लिएका थिए ।
१२७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएका वडा नम्बर १० ले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ११९ रन मात्र जोडे । वडा नम्बर १० का विप्सन विष्टले २ चौका प्रहार गर्दै ४६ बलमा ३१ बनाए ।
त्यस्तै सुमन भट्टराईले दुई चौका प्रहार गर्दै १८ बलमा २२ रन र सरोज पाण्डेले दुई चौका प्रहार गर्दै १४ बलमा १४ रन बनाए ।
वडा नम्बर ८ का तर्फबाट प्रवेश कामतीले ४ ओभरमा ११ रन खर्चिएर दुई विकेट र सुयोग उपाध्यायले २ ओभरमा १८ रन खर्चिएर दुई विकेट लिए ।
खेलको म्यान अफ दि म्याच वडा नम्बर ८ का आशिष बरुवाल घोषित भए । उनलाई नगद र ट्रफीसहित पुरस्कृत गरियो ।
सोमबारको खेल वडा नम्बर ४ र ५ बीच हुने आयोजक समितिले जनाएको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको भद्रपुर नगरपालिका अन्तरगतको ६ नम्बर वडा कार्यालय र बल बस्टर्स क्लव भद्रपुरको संयुक्त आयोजनामा प्रतियोगिता भइरहेको हो ।
Comments