चाह्यो भने नेपाल प्रहरीले गर्न सक्छः पत्रकार मनोहर ढकालको हत्या भएको पुष्टि
Published:
by .हेटौंडा । हेटौंडा नगरपालिका १, भैरवडाँडामा १० दिनअघि शंकास्पद रुपमा मृत्यु भएका पत्रकार मनोहर ढकालको हत्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले घटनाको १० दिनपछि ढकालको हत्या भएको सार्वजनिक गरेको हो ।
२५ पुसमा मारिएका ढकालको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटनामा प्रत्यक्ष संलग्न हेटौंडा–११ का १९ बर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका १ का प्रविण वाइबा छन् ।
त्यस्तै, हत्या गरेर ढकालको साथबाट चोरी भएको मोबाइल र सुनको औंठी खरिद गर्ने भीमफेदी गाउँपालिका ६ का दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका सञ्चालक हेटौंडा २ का नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक मधुकुमार थापा नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्लाका डीएसपी यज्ञप्रसाद भट्टराईका अनुसार प्रारम्भिक समयमा हत्या सामान्य जस्तो देखिए पनि गम्भीर अनुसन्धानपछि दुई आरोपित पक्राउ परेका हुन् ।
उनीहरुमाथि ज्यान मुद्दा अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।
त्यसअघि उनको दुर्घटनामा मृत्यु भएको बताइँदै आएको थियो । तर, प्रहरीको तालिम प्राप्त कुकुरको संकेत, १ सय ५० जनासँगको सोधपुछ र कल डिटेल एनालइसिसबाट हत्या भएको निष्कर्षमा प्रहरी पुगेको थियो ।
यस्तो थियो घटनाः
आरोपितहरुले दिएको बयान अनुसार २५ पुसमा साँझ भैरवडाँडाको जंगलमा उनीहरु लागूऔषध सेवन गरेर बसिरहेका थिए । त्यसक्रममा पत्रकार ढकालले आएर किन जंगलमा बसेको ? बदमासी गर्न हो भन्दै प्रहरीलाई बोलाउँ भनेपछि उनीहरु आक्रोशित भएका थिए ।
लागूऔषध सेवन गरिरहेका उनीहरुले पत्रकार ढकालको हातमा सुनको औंठी र झोलासमेत देख्छन् । र, प्रलोभनमा मोटरसाइकलबाट तानेर घाँटी थिच्छन् ।
प्रहरीका अनुसार त्यसवेलासम्म ढकालले चलाएको ना २३ प ६३३८ नम्बरको डिस्कभर मोटरसाइकल स्टार्ट अवस्थामा नै थियो । छेऊमा तानेर ढकाललाई लडाएपछि उनीहरुले ढकालसँग भएको सुनको औंठी, पर्स, हार्ड डिक्स र झोलासमेत खोस्छन् ।
त्यसक्रममा उनीहरुले हत्या गर्ने उद्देश्यले ढुंगा भएको खोल्सामा ढकाललाई धकेल्छन् । र, उनको मृत्यु हुन्छ ।
त्यसअघि उनको दुर्घटनामा मृत्यु भएको बताइँदै आएको थियो । तर, प्रहरीको तालिम प्राप्त कुकुरको संकेत, १५० जनासँगको सोधपुछ र कल डिटेल एनालइसिसबाट हत्या भएको निष्कर्षमा प्रहरी पुगेको हो ।
सामुदायिक रेडियो रेडियो पालुङका पूर्वस्टेशन म्यानेजर रहेका ढकाल हाल शिक्षण पेसामा थिए । उनी हेटौँडा १२ स्थित बुद्ध माध्यमिक विद्यालयमा अध्यापन गरेर घर फर्कने बेलामा घटना भएको हो । विभिन्न रेडियो स्टेशनहरुमा ट्रान्समिटर तथा टावरको प्राविधिक काम पनि उनले गर्दै आइरहेका थिए ।
अनलाइन खबरबाट
Comments