‘हात्तीको उपद्रो रोक्न सौर्य विद्युतीय तारबारको काम चाँडै : सांसद लिङ्देन
Published: (Updated: )
by .कचनकवल । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले जिल्लाको दक्षिणी भेगमा बढिरहेको जंगली हात्तीको उपद्रो रोक्न सौर्य विद्युतीय तारबारको काम चाँडै अघि बढाइने बताएका छन् ।
कचनकवल गाउँपालिका ७ स्थित दिपज्योति सामुदायिक वनको ११औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सांसद लिङ्देनले कचनकवलका सबै माद्यमिक विद्यालयमा अंग्रेजी तथा कम्प्युटर शिक्षा अनिवार्य गरिनेसमेत उद्घोष गरेका छन् । विद्यालयहरुमा कम्प्युटर शिक्षक र कम्प्युटरको व्यवस्था चाँडै गरिने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै सांसद् लिङ्देनले हरेक सामुदायिक वनले एउटा सीमसार बनाउनुपर्ने पनि बताए । जंगलबाट निस्किएर सर्वसाधारणलाई दुःख दिने हात्ती हेर्नकै लागि पर्यटक आउने वातावरण चाँडै बनाइने उनको भनाई थियो । ‘हात्ती हेर्न पर्यटक आउनेछन्, यहाँको आम्दानी पनि बढ्नेछ,’ उनले भने । जलथल जंगल वन्यजन्तु र जैविक विविधताका हिसाबले महत्वपूर्ण रहेकाले यसको संरक्षणमा जुट्नुपर्ने उनको भनाई थियो । लोपोन्मुख सालक पनि यही जंगलमा पाइने उनले जानकारी दिए ।
सामुदायिक वनका अध्यक्ष हरि लिम्बूको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार यसवर्ष वनले १६ लाख ५२ हजार आम्दानी गरेको छ । लक्ष्यको ७० प्रतिशत मात्र आम्दानी भएको अध्यक्ष लिम्बूले बताए ।
वनको यसवर्षको खर्च २७ लाख १० हजार रहेको प्रतिवेदनमा उल्लेख छ । लकडी कटान, संकलन तथा बिक्री वितरणमा ढिलाइ भएकाले यसवर्ष घाटा बेहोर्नु परेको अध्यक्ष लिम्बूको भनाई छ ।
२०६६ साल चैतमा जिल्ला वन कार्यालय झापामा दर्ता भएको सामुदायिक वनमा ७०० घरधुरी आवद्ध छन् । वनको क्षेत्रफल ३९२ दशमलव १८ हेक्टर रहेको कोषाध्यक्ष रिता सापकोटाले बताइन् ।
साधारणसभाका अवसरमा स्थानीय १७ जना ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो । प्रमुख अतिथि सांसद् लिङ्देनले ज्येष्ठ नागरिकहरुलाई दोसल्ला र नगदसहित सम्मान गरे ।
सोही अवसरमा उनले गोलघर (चौतारो) र फलामे गेटको समेत उद्घाटन गरेका थिए । साधारणसभामा कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम, डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरे, धान सुपरजोनका अध्यक्ष नवराज भट्टराइलगायतले आफ्ना भनाई राखेका थिए ।
Comments