महिला सशक्तिकरणमा यथेष्ट योगदान गर्ने सांसद लिङ्देनको आश्वासन
Published:
by .भद्रपुर । राधा कार्कीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै महिला आदर्श सेवा केन्द्र झापाको १९औं वार्षिक साधारणसभा आज चन्द्रगढीमा सम्पन्न भएको छ ।
प्रतिनिधिसभाका सदस्य राजेन्द्र लिङ्गदेनको प्रमुख आतिथ्यमा आयोजित साधारणसभाको उद्घाटन पछि आफ्नो मन्तब्य राख्दै सांसद लिङ्देनले मुलुकको आधाभन्दा वढी जनसंख्या रहेको महिलालाई मूल प्रवाहमा नल्याई देश विकास सम्भव नहुने धारणा राखे ।
महिला शसक्तिकरणको लागि आफूले कुनै कसर वाँकी नराख्ने सुनाउँदै लिङ्देनले लिङ्ग र वर्गको आधारमा विभेद अन्त्य हुनुपर्ने वताए । महिलाको समग्र विकासको लागि तीन दशक अघि स्थापित सेवा केन्द्रले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिनमा अझ बढी भूमिका निर्वाह गर्न आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने पनि आश्वासन दिए ।
सेवा केन्द्रका सदस्य तुलसा घिमिरेले स्वागत गरेको कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुलगायतले आ–आफ्ना धारणा राखेका थिए ।
सो अवसरमा सस्थाको स्थापना कालदेखि हालसम्म योगदान गर्ने चार जनालाई कदरपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरियो । सोही अवसरमा सेवा केन्द्रले आयोजना गरेको ५ महिने सिलाई कटाई तालिमका प्रशिक्षर्थीहरुलाई प्रमाणपत्र प्रदान गरियो ।
यसैबीच साधारणसभाले राधा कार्कीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित समितिको सदस्यहरुमा हेमा पौडेल, ताजुमाला कार्की, कृष्णादेवी चुँडाल, तुलसा घिमिरे, सावित्री श्रेष्ठ, चन्द्रकला भूषाल, सुनिता शर्मा, गीता मेचे, रिना खड्का, तुलसा आचार्य, रिङ्की सहनी र लक्ष्मी ढकाल सर्वसम्मत चयन भएका हुन् ।
Comments