Sajhamanch Archive

बिर्तामोड महोत्सवको केन्द्रीय आकर्षण हेलिकप्टर सयर

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by .

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेलिकप्टर चढ्नेको संख्या बढ्दै गएको छ । महोत्सवको आकर्षणका रुपमा माउण्टेन एयरको हेलिकप्टर ल्याइएसँगै हेलिकप्टर चढेर विभिन्न स्थान अवलोकन गर्नेहरुको संख्या बढेको आयोजकको दावी छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य रोशन प्रसाईंका अनुसार हेलिकप्टर प्रत्येक दिन ९ पटक बिर्तामोड अवलोकनका लागि मात्र उड्दैछ । यो ५ देखि ८ मिनेटसम्मको प्याकेज हो । त्यस्तै झापाका अन्य स्थान अवलोकन गर्नेहरुका लागि पनि १२ मिनेटको प्याकेजमा हेलिकप्टर जाने गरेको उनले सुनाए ।

हेलिकप्टर चढ्नेमा बालबालिकादेखि वृद्धावस्थासम्मका छन् । सोमबार दिउँसो बिर्तामोडका ९७ वर्षीय छविलाल रिजालले हेलिकप्टरबाट बिर्तामोड अवलोकन गरेर सबै उमेरका लागि हेलिकल्पटर चढ्ने रहरको संकेत गरेका छन् ।

तेस्रो प्याकेजका रुपमा महोत्सव आयोजक समितिले बिर्तामोडदेखि ताप्लेजुङको पाथीभरा देवीको मन्दिरसम्मको उडान तय गरिएको छ । त्यसमा हालसम्म तीन पटक उडान गरिएको प्रसाईंले जानकारी दिए । ‘अब कम्तीमा दुई ट्रिप ताप्लेजुङ जाँदैछौँ,’ प्रसाईंले भने, ‘अझै ३० ट्रिप हुने गरी मान्छे तयार छन् तर, मौषमले गर्दा ताप्लेजुङ चाहिँ जान नसकिने अवस्था छ ।’

महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम सञ्चालन भइरहेको छ । सोमबार दिउँसो बिर्तामोडस्थित टावर टेम्बल बोर्डिङ स्कूलका विद्यार्थी र बिर्तामोडका कलाकार विशाल श्रेष्ठले सांगीतिक प्रस्तुति दिएका थिए । अहिले साँझमा गायक प्रेम आङ्देम्बे र गायिका मेलिना राईको बेजोड प्रस्तुति चलिरहेको छ ।

मंगलबार दिउँसो सरस्वती एन्जल स्कूलका विद्यार्थीको गायन तथा नृत्य रहनेछ । त्यस्तै साधना कला केन्द्रको विशेष प्रस्तुति रहने महोत्सवका साँस्कृतिक समिति संयोजक श्याम खड्गीले जानकारी दिए । मंगलबार नै धरानको टोलीले दोहोरी प्रस्तुत गर्ने बताइएको छ । साँझ भने चर्चित गायक राजेश पायल राईले स्टेज तताउँदैछन् ।
र्तामोड उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित महोत्सव शुक्रबारदेखि सुरु भएको हो । २१० वटा स्टल रहेको महोत्सवमा अवलोकन तथा किनमेल गर्न आउनेको संख्या बढ्दो क्रममा रहेको महोत्सव सचिवालयका कार्यकारी अधिकृत अनिल ढुंगानाले बताए ।

महोत्सवमा प्रवेश गरी अवलोकन र किनमेलका लागि टिकटको व्यवस्था गरिएको छ । हालसम्म १७ हजार जनाले टिकट काटेर महोत्सवको अवलोकन गरेको आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालले जानकारी दिए । मेलामा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको पनि सहभागिता छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *