बहुवर्षीय आयोजना निरन्तर गर्न कांग्रेसको माग
Published:
by .भद्रपुर । अघिल्लो सरकारका पालामा सुरु भएका बहुवर्षीय आयोजनाका कामहरु रोकिएको भन्दै नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ ले विकास आयोजनाका काम सुचारूको मागसहित आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
क्षेत्रीय सभापति गणेश पोखरेल र नवीन विमलीको नेतृत्व टोलीले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुवर्षीय आयोजनाका काम सुचारूको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा प्रदेश १ कै सार्वाधिक ठूलो एवम् सुविधा सम्पन्न बनाउने गरी ११ करोड २६ लाख २७ हजारमा काम सुरु भएको सभागृह, गिरिजाप्रसाद स्मृति सभागृह, प्रदेश १ को सरकारी मेडिकल कलेजको रूपमा स्थापना गर्ने लक्ष्यका साथ २० करोडको लागतमा निर्माण सुरु गरिएको मेची अञ्चल अस्पताल भवनको काम रकम रोकिएकाले यथाशीघ्र निर्माणको माग गरिएको छ ।
यसैगरी चारआली–केचना सडक खण्डको चारआली—देउनिया–पृथ्वीनगरको काममा ढिलासुस्ती भएको, पाठामारी बालुवाडी सडकको कालोपत्रेको काम रोकिएको, केचना चक्रपथ सडक कालेपत्रेसहितको काम रोकिएको, जलथल अधिकारी चौक दल्की—घेराबारी सडक कालोपत्रे रोकिएकोमा निर्माण सुचारु गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा देउनिया पाथीभरा सिंचाइ आयोजना रोकिएको, अदुवा खोला सिंचाई आयोजना हल्दिवारी—बाह्रदशीको काम रमकमकै कारण ढिलासुस्ती भएको लगायत ३६ वटा आयोजनाका काम रोकिँदा दक्षिण झापाको विकास र समृद्धिमा बाधा परेको ठहर गरिएको छ ।
विगत सरकारका पालामा सुरु भएका आयोजना रोकिनु स्थानीय नागरिकमाथि अन्याय गरिनु हो भन्दैे ज्ञापनपत्रमा सरकारलाई देश र जनताको साझा अभिभावक बन्न आग्रहसमेत गरिएको छ ।
Comments