Sajhamanch Archive

‘मानवीय सेवाका आधारमा रोगमुक्त गर्नु नै भद्रपुरका वैद्य राजवंशीको मुख्य आम्दानी !’

Published: in राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । दुई दशकदेखि झापा सदरमुकाम चन्द्रगढीमा रहेर जडीबुटी उपचारबाट गरीब र असहायको सेवक बनेका लक्ष्मी राजवंशी गुमनामजस्तै छन् । घरायसी जडीबुटीको प्रयोगबाट दीर्घ रोगलगायत हाड जोर्नीका समस्या निराकरण उपचार सेवा पुर्याउँदै आएका राजवंशीको परिचय खासै खुल्न सकेको छैन । विज्ञापन र तडक भडकका पछाडि उनको सेवा गौण बनेको छ ।

पैसा नहुनेले उपचार सेवा नपाउने व्यापारमुखी उपचार पद्धतिको विपरित वैद्य राजवंशी नागरिकले स्वास्थ्य सेवा पाउने आधारभूत अधिकारको रक्षार्थ आफ्नो सेवालाई निरन्तरता दिइरहेको बताउँछन् । लक्ष्मी आयुर्वेदिक उपचार केन्द्रको नामबाट भद्रपुर १० चन्द्रगढीमा उपचार सेवा दिइरहेका राजवंशी घर आँगनमै रहेका औषधीय वनस्पतिको सहयोगमा कम खर्चमा बिरामीको सेवा गरिरहेका छन् ।

र, दर्जनौं बिरामीलाई सफल उपचार गरेर नयाँ जीवन पनि दिलाएका छन् । दैनिक ज्याला मजदूरी गरेर जीवन गुजारा गरिरहेका वैद्य राजवंशीले आयुर्वेदिक उपचार मानवीय सेवाका रूपमा मात्र गरिरहेको सुनाउँछन् । सेवा नै धर्म हो भन्ने मान्यता बोकेका राजवंशी हाडजोर्नी, ग्याष्ट्रिक, अल्सर, सुगर, प्रेसर, पायल्स, फिष्टुला, जण्डिस, नसा सम्बन्धी रोगका लागि सफल उपचार गर्ने वैद्य हुन् भन्न कन्जुस्याईं गर्नै नपर्ने सेवाग्राहीहरु जिकिर गर्छन् ।

आधुनिक उपचार सेवाका नाममा लाखौं खर्च गरेर उपचार सफल नभएपछि जडीबुटी उपचार गर्न आइपुग्ने बिरामीलाई रोगमुक्त बनाउँदा आनन्द आउने राजवंशी सुनाउँछन् । रोगीको उपचार गरेवापत लिनुपर्ने शुल्क भने तोकेर माग्ने नगरेको राजवंशीको भनाई छ । विरामीका आफन्तले खुसीले दिएको रकममा सन्तुष्टि जनाउने गरेका उनी रोगी बचाउनु नै आफ्नो प्रमुख सम्पत्ती भएको तर्क गर्छन् ।

उनीसँग उपचारका लागि आउने अधिकांश विरामी आर्थिक अभावले उपचार सेवा लिन नसकेका गरीब असहाय नै हुने गरेका छन् । हाड भाँचिएका, जोर्नी खुस्किएका विरामीको उपचार गर्न विशेष दख्खल राख्ने राजवंशीलाई उनकी श्रीमतीले पनि उपचार सेवामा सहयोग गर्छिन् ।

नेपाल सरकारको आयुर्वेद विभागबाट उपचार पद्धतिबारे प्रशिक्षण लिएका राजवंशीले हाडजोर्नीको समस्याबारे थाहा पाउन आधुनिक उपकरण एक्सरेको रिपोर्ट हेरेर विरामीको उपचार गर्ने गरेको सुनाउँछन् । परम्परागत उपचार विधि भए पनि जडीबुटीको प्रयोगबाट दीर्घरोगको उपचार सम्भव रहेको बताउने राजवंशी पछिल्लो समय सीमावर्ती भारतीय बजार गलगलियामा उपचार सेवा दिन जाने गरेको बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *