Sajhamanch Archive

बिर्तामोड महोत्सवः सोचेभन्दा राम्रो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

बिर्तामोड । सोचेभन्दा राम्रो ढंगले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सञ्चालन भइरहेको आयोजकको भनाई छ । बिर्तामोड उद्योग वाणिज्य संघका अधिकारीहरुका अनुसार महोत्सव उद्घाटनका दिन उल्लेख्य उपस्थिति नभए पनि त्यसपछिका दिनमा किनमेल गर्नेहरुको घुइँचो बढेको हो ।

‘सुरुका दिनमा सोचेजस्तो उपस्थिति भएन, भोलिपल्टदेखि संख्या बढेको बढ्यै छ,’ उपाध्यक्ष नारायण चिमरियाले भने, ‘यसरी नै संख्या बढ्दै जाने हो भने हामी लक्ष्यमा पुग्नेछौँ ।’ मेलामा नयाँ–नयाँ सामाग्री पाइएका कारण सर्वसाधारणको आकर्षण बढेको उनको भनाई छ । मार्सी चामल किन्नकै लागि महोत्सव आउनेहरुको संख्या पनि उल्लेख्य रहेको उपाध्यक्ष चिमरियाले जानकारी दिए ।

‘महोत्सवमा लेदरका आइटमहरु खोज्दै आउनेहरु पनि हुनुहुन्छ,’ संघका अर्का उपाध्यक्ष राजु न्यौपानेले भने, ‘वाणिज्य संघले धेरै ठूलो नाफाको उद्देश्य राखेर होइन, पर्यटन प्रवद्र्धन गर्न र व्यापारीलाई उत्साह दिन महोत्सव आयोजना गरेको हो ।’

बिर्तामोड–५ का डम्बर विमलीले बिर्तामोड महोत्सव राम्रो र व्यवस्थित भएको प्रतिक्रिया दिए । बजार भाउभन्दा सस्तो र गुणस्तरीय सामग्री किन्न पाइएको उनको भनाई छ ।

महोत्सवस्थलमा राखिएको बिर्तामोडस्थित अलस्का अटोमोवाइल्सको स्टलबाट मंगलबार टाटा नेक्सनको गाडी बिक्री भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र नेपाली कांग्रेसका नेता देउमान थेबेले गाडी खरिदकर्ता डा. सुदन शर्मालाई चाबी हस्तान्तरण गरे ।

विशेष चाडपर्वमा पकाइने सेलरोटी बिर्तामोड महोत्सवमा भने स्टल राखेरै बिक्री गरिँदैछ । बिर्तामोड उद्योग वाणिज्य संघको भ्रातृ संगठन महिला उद्यमी समूहले राखेको स्टलमा सेलरोटी खानेहरुको घुइँचो छ । सेलरोटीको व्यापार आफूहरुले सोचेभन्दा राम्रो भएको महिला उद्यमी समूहकी सचिब संगीता चिमरियाले बताइन् । यो स्टलमा सेलरोटी, अचार, तरकारी र चिया पाइन्छ ।

‘एकै दिनमा २७ हजार रुपैयाँसम्मको सेलरोटी बेचेका छौँ’ उनले भनिन्, ‘अहिलेसम्म सबैबाट प्रशंसा मात्र पाइरहेका छौँ ।’ व्यापारबाट आएको पैसा परोपकारी काममा खर्च गर्ने समूहको लक्ष्य छ । यो समूहमा २१ जना उद्यमी महिला छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *