नेपाली राष्ट्रिय महिला फुटबल टोली झापामा
Published:
by .भद्रपुर । फोर लेशन वुमन च्याम्पियनशिपमा भाग लिने नेपाली राष्ट्रिय महिला फुटबल टोली बुधबार झापा आएको छ ।
भारतको उडिसा राज्यमा हुने प्रतियोगिताको पूर्वसन्ध्यामा अभ्यास खेलका लागि झापा आइपुगेको टोलीलाई स्वागत पनि गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिले मेची रङ्गशालामा कार्यक्रम आयोजना गरेर अफिसियल र खेलाडीसहितको २९ सदस्यीय टोलीलाई स्वागत गरेको छ ।
अभ्यास खेलका लागि भद्रपुर आइपुगेको २३ जना खेलाडी र ६ जना अफिसियलसहित २९ सदस्यीय टोलीलाई भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापालगायतले स्वागत गरेका हुन् ।
उक्त कार्यक्रममा समितिका प्रशिक्षण विभाग प्रमुख टार्जन सुब्बा, सहायक प्रशिक्षकहरु हक्कीका ज्ञानेन्द्र खड्का, तेक्वान्दोका हरि भूजेल, जितेन्द्र मेचे, जुडोका स्वयंसेवक प्रशिक्षक गङ्गा खड्का, जिल्ला फुटबल सङ्घका सदस्य पुनम सुब्बा, श्रीजङ्गा स्पोर्टस क्लवका सदस्य अनु तामाङलगायतको उपस्थिति थियो ।
कार्यक्रममा समितिका अध्यक्ष थापाले महिला टोली अभ्यासका लागि झापा आउनु गौरवको विषय भएको बताउँदै टोलीको व्यवस्थापनलाई चुस्त दुरुस्त र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण प्रबन्ध मिलाइएको स्पष्ट पारे ।
अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको अफिसियलतर्फ हेड कोचमा पूर्व अन्तरराष्ट्रिय फुटबल खेलाडी हरि खड्का, असिस्टेन्ट कोचमा भगवती राना, गोल किपर कोचमा मृगेन्द्र मिश्र, ट्रेनरमा विवेक विक्रान्त अधिकारी, फिजियोमा मनिषा महर्जन र मेनेजरमा कमला हिराचन छन् ।
विगत दुई महिनादेखि काठमाडौँको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको कृत्रिम मैदानमा अभ्यास गर्दै आएको टोलीले घाँसे मैदानको अभ्यास पनि आवश्यक रहेकाले झापामा अभ्यास सुरु गरेको प्रशिक्षक हरि खड्काले बताए ।
समितिका उपाध्यक्ष भेषराज भण्डारीका अनुसार अन्तरर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु अघि टोलीले मेची रङ्गशालामा एक साताका लागि खेल अभ्यास सुरु गरेको हो ।
केही दिनको अभ्यास पछि टोली नेपालसहित भारत, म्यानमार र श्रीलङ्काको राष्ट्रिय टोली सम्मिलित प्रतियोगिता खेल्न काँकरभिट्टा हुँदै फ्रेबुअरी ५ तारिखमा भारत प्रस्थान गर्ने समितिका कार्यालय प्रमुख टहलदास मैनालीले बताए ।
Comments