Sajhamanch Archive

‘दुःखमा पनि एक किसिमको आनन्द मिल्छ’ : इशक राई

Published: in अन्तर्वार्ता, टिप्स/जानकारी by .

पाँचथरको फिदिममा जन्मिएका इशक राई अहिले निकै चर्चित छन् । एक दर्जनभन्दा बढी गीतमा स्वर दिएका गायक इशक यतिबेला गायनमा मात्र सिमित छैनन् । बैशाखमा रिलिज हुने नेपाली चलचित्र आरुसीमार्फत उनी नायकको रुपमा पनि उदाउँदै छन् । उदय सुब्बाले निर्देशन गरेको चलचित्र आरुसीमा इशकसँगै रमा लिम्बू, सुनिल थापा, सुरविर पण्डित, दमन रुपाखेती लगायत कलाकारहरुको अभिनय छ्र ।

यसअघि इशकले समय, भर्जिन, तिम्रो यादजस्ता चलचित्रमा अभिनय गरिसकेका छ्रन् । तर नायकका रुपमा उनको यो पहिलो प्रयास भएको बताउँछन् । आवाजका धनी र कोरियन लुक्स अनुहार भएका इशक युवा पुस्ताको नजरमा पर्न सफल छन् । स्टेज प्रोग्रामका लागि नेपालका विभिन्न ठाउँ घुमिसकेका इशकको पहिलो गीत मन्द मन्द मौसम थियो ।

इसक एल्बमको ‘सिम्पल लिभिङ्ग हाई थिङ्किङ’ गीत अहिले पनि निकै नै चर्चित छ । गायकमात्र नभएर नायकको रुपमा पनि इशकको भविष्य चलचित्र क्षेत्रमा निकै सुन्दर देख्न सकिन्छ । तिनै नायक इशक राईसँग साझामञ्चका लागि सञ्जु शिवाकोटीले गरेको कुराकानी ः

चलचित्र क्षेत्रमा आउनका लागि प्रेरणाको स्रोत कसलाई दिनुहुन्छ ?
मेरो ममीको ठूलो सपोर्ट छ अनि साथीभाइ र विशेष गरी सुरुवाती समयदेखि अहिलेसम्म हास्य कलाकार सुबास गजुरेल, चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राई र उदय सुब्बाको प्रेरणाले मलाई चलचित्रमा होमिन सहयोग गरेको हो ।

धेरैवटा गीत गाउनु भएको छ । तपाईंलाई इशक राई भनेर चिनाउने गीत चाहिँ कुन हो भन्ने लाग्छ ?
सन् २०१६ मा रिलिज भएको इशक एल्बमको ‘सिम्पल लिभिङ्ग हाई थिन्किङ’ भन्ने गीतले नै मलाई चिनाएको हो ।

मनपर्ने गायक गायिकाको नाम लिनुपर्दा कसको लिनु हुन्छ ?
मलाई प्रायः सबै कलाकार मन पर्छन् । नामै लिनुपर्दा गायिका अन्जु पन्त र गायक राजेशपायल राईको आवाज सुनिरहुँ लाग्छ ।

सांगीतिक क्षेत्रलाई व्यावसायिक तरिकाले अगाडि बढाउन सकिँदैन भन्नेहरुलाई तपाईंको जवाफ ?
मलाई चाहिँ सकिन्छ जस्तो लाग्छ । किनकि हाम्रो बजार सानो छ, तर पनि राम्रो क्वालिटी दिन सकियो भने यही क्षेत्रमा अवश्य बाँच्न सकिन्छ । हरेक क्षेत्रमा पहिला मिहेनत अनि धैर्यता गर्दै सही समयको सदुपयोग गर्न सकियो भने यो फिल्डमा मज्जाले जम्न सकिन्छ । पछिल्लो समय केही गायक गायिका जसको साथमा नाम र दाम दुवै छ । सांगीतिक क्षेत्रबाट नै राम्रो कमाई गरी खुसीसाथ जिन्दगी बिताइरहनु भएको छ । तर आफूलाई क्षमतावान चाहिँ बनाउनु पर्यो ।

संगीतिक क्षेत्रमा प्रवेश गर्न राजधानी नै पुग्नु भयो कि ?
म सानै उमेरबाट गीत गाउने गर्थें । स्कूलमा पनि मौका मिल्दा गाउने गर्थें । तर लागिपरेर गायन क्षेत्रमा नै जम्न चाहेको चाहिँ राजधानी काठमाडौँबाट नै हो । गीत रेकर्ड गर्न पनि राजधानीमा नै सहज हुने गरेकाले संघर्ष पनि यतैबाट गरियो ।

स्टेज प्रोग्राम कत्तिको गर्नु भएको छ ?
स्टेज प्रोग्राम धेरै गरेको छु । नेपालको विभिन्न ठाउँमा पुगेको छु । अब विदेशतिर पनि जाने तयारीमा छु ।

यो क्षेत्रमा आफूलाई कतिको सफल भएको ठान्नु हुन्छ ?
सफल छु भन्दा पनि जति स्रोताहरुले मेरो गीत सुन्नु भएको छ, म्यूजिक भिडियो हेर्नुभएको छ, सबै दर्शक स्रोतलाई खुसी दिन सकेको महसुस गरेको छु ।

तपाइको विचारमा संगीत के रहेछ ?
संगीत एक अद्भुत शक्ति हो । जसले हारेको मरेको आशालाई पनि उब्जाएर सही मार्गमा सुनिश्चित गरी आनन्द दिलाउँछ ।

आजसम्म आइपुदा धेरै संघर्ष गर्नुभयो होला । संघर्षका ती दिनलाई कसरी सम्झनु हुन्छ ?
धेरै संघर्ष गरेकै हो । कति रात काठमाडौँमा भोकभोकै बसियो, कति दिन गल्लीमा बास भयो, घर थिएन । दुःख धेरै भयो । अहिले पनि स्ट्रगल गरिरहेको छु । दुःख धेरै गरे पनि त्यो दुःखमा पनि एक किसिमको आनन्द मिल्छ । किनकि आफूलाई मन पर्ने फिल्डमा छु ।

अन्त्यमा, अबको योजना के छ ?
आरुसी फिल्मको सुटिङ सकियो । अब प्रोमोसनमा समय दिनेछु । र, अर्को प्रोजेक्टको तयारीमा छु । अनि मलाई माया गर्ने सबैमा धन्यवाद पनि भन्न चाहन्छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *