Sajhamanch Archive

२४ दिनपछि डा. केसीले तोडे एकतर्फी अनसन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । विगत २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आज एकतर्फी रुपमा अनसन तोडेका छन् । आज दिउँसो विज्ञप्ती निकालेर उनले अनसन तोडेका हुन् । सरकारले मेरो अनसनलाई बेवास्ता गर्यो, अब अरु विधिबाट चिकित्सा शिक्षा ऐ्न विरुद्ध लड्छु भन्ने आशय उनले जारी गरेको विज्ञप्तीमा छ ।

अनसन विरुद्ध ‘एन्टी करेन्ट’ जनमत बढेपछि डा. केसीलाई अनसन तोडाउन उनका निकट अभियन्ताहरु सक्रिय भएर नागरिक समाजका अगुवाहरुसँग छलफल गरेका थिए ।

छलफलपछि आज पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीसहित नागरिक समाजका अगुवाहरुले आमरण अनसन फिर्ता लिन आग्रहसहितको विज्ञप्ति प्रकाशन गरेका थिए । डा. केसीलाई अनसन तोडाउने पृष्ठभूमि तयार पार्नका लागि नागरिक अगुवाहरुले यस्तो अपील निकालेका हुन् ।

पूर्वप्रधान न्यायाधीश कार्कीसहित दमननाथ ढुंगाना, भोजराज पोखरेल, सुरेन्द्रप्रसाद चौधरी, प्रभु बुढाथोकी, डा. दिनेश प्रसाई र रविन्द्र सिंह बानियाँले डा. केसीसँग अपील गर्दै आमरण फिर्ता लिन आग्रह गरिएको विज्ञप्ति निकालेका थिए ।

यसअघि उनीहरुले केसीको पक्षमा अभियान चलाउदै आएका भए पनि अनसन बिरोधी जनमत बढ्दै गएपछि अभियन्ताहरुले डा. केसीको सुरक्षित अवतरणको बाटो रोजेका हुन् ।

यसैगरी आजै केदारभक्त माथेमासहित चार प्रतिष्ठित डाक्टरहरुले पनि अनसन फिर्ता लिन आग्रह गरिएको विज्ञप्ति निकालेका थिए । प्राडा मदन उपाध्याय, प्राडा रमेशकान्त अधिकारी, प्राडा अर्जुन कार्की र प्राडा भगवान कोइरालाले संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

शुक्रबार नै पूर्व राष्ट्रपति डा. रामबरण यादवले पनि डा .केसीलाई भेटेका थिए ।

नेपाल चिकित्सक संघको आह्वानमा शुक्रबार गरिएको स्वास्थ्य सेवा बन्द कार्यक्रम सफल नभएपछि उनका सहयोगीहरुले सुरक्षित अवतरणको बाटो रोज्नु पर्ने वाध्यात्मक अवस्था सिर्जना भएको थियो । शुक्रबार डा. केसीको समर्थनमा बन्द गराउन उत्रेका उनी निकट चिकित्सहरु विरुद्ध सर्वसाधरण नै उत्रेपछि परिस्थिति बदलिएको हो ।

२५ पुस २०७५ मा संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्नासाथ डा. केसीले १६औँ अनसन शुरु गरेका थिए । २०७५ साउन १० गते डा. केसीले १५औं अनसन तोड्दा आफूसँग गरेको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक अनुमोदन गरेको भन्दै उनले इलाममा १६औँ चरणको अनसन शुरु गरेका थिए ।

यसपछि चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बिरुद्ध नै डा. केसी उभिएपछि उनी बिरोधी जनमत बढेको थियो ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य तथा सांसद योगेश भट्टराईको अगुवाईमा बनेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई अब कार्यान्वयनको बाटो खुलेको छ । पछिल्लो समयमा डा. केसी भर्सेस योगेशजस्तै वातावरण बनेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *