Sajhamanch Archive

देवी माविको वार्षिकोत्सवमा दाता र शिक्षक सम्मानित

Published: in राष्ट्रिय समाचार, समाज, by .

बिर्तामोड । यहाँस्थित देवी माद्यमिक बिद्यालयको ५६औं वार्षिक उत्सव समारोह आज सम्पन्न गरिएको छ ।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा वार्षिक उसत्व समारोह सम्पन्न भएको हो । कार्यक्रममा आफ्ना भनाई राख्दै निरौलाले २६ वर्ष अघिको श्री देवी प्राविको विद्यार्थी संख्या र भौतिक अवस्था अनि आजको प्लस २ सञ्चालनसम्मको अवस्थालाई मूल्याङ्कन गरेकी थिइन् ।

विभिन्न दाताहरुको अक्षयकोष रकमबाट विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गरेको एवम् स्थानीय तह र सांसदहरुले विकास कोषको रकम उपलब्ध गराएर विद्यालयको स्तरोन्नतिसहित पहिचान फराकिलो बनाएकोमा सांसद निरौलाले विद्यालय परिवारलाई धन्यवाद दिइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानुराम प्रसाईको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहमा विद्यालयले आयोजना गरेका आन्तरिक प्रतियोगितात्मक खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

यसैगरी शिक्षण पेशामा अनवरत २५ वर्ष विताएका र हाल देवी माविमा सेवारत ५ जना शिक्षकहरुलाई चाँदीको मेडलसहित कदरपत्र प्रदान गरिएको छ । विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको हौसला बढाउन सहयोग गर्ने उद्देश्यले छात्रबृत्ति स्थापना गर्ने दाताहरुलाई पनि कदरपत्रसहित सम्मान गरियो ।

कार्यक्रममा प्राधानाध्यक अम्बिका श्रेष्ठले विद्यालयको समग्र अवस्था बारे प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवकोटी, उपप्रमुख पवित्रा महतारा, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, ५ नम्बर वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले नगरपालिकाको तर्फबाट विद्यालयको समग्र विकासमा सक्दो सहयोग गर्ने बचन दिए ।

वार्षिकोेत्सव समारोहमा विद्यार्थीहरुले गीत गाएर तथा नृत्य गरेर आफ्नो प्रतिभा अभिभावकहरुलाई देखाएका थिए । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्याक बद्री भट्टराईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *