लाओसका उपराष्ट्रपतिसँग नेकपा प्रतिनिधिमण्डलको भेट
Published:
by .भेन्टाइन । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीको प्रतितिनिधिमण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी–लाओ पिपुल्स रिभ्युलसनरी पार्टीका पोलिट्ब्युरो सदस्य तथा उपराष्ट्रपति फांखाम भिफाभान्हसँग आज भेट गरेको छ ।
राजधानी भेन्टाइनस्थित पार्टी कार्यालयमा भएको भेटमा उपराष्ट्रपति भिफान्हले लाओस र नेपालबीच धेरै विषयमा समानता रहेको उल्लेख गर्दै भूपरिवेष्ठित देश भएकाले एकर्काका समस्या र चाहनाहरु दुबै देशले बुझेकाले आपसमा साझेदारी गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
कम्युनिस्ट पार्टीको नेतृत्वमा लाओसले हासिल गरिरहेको समृद्धि र तीब्र आर्थिक विकासका बारेमा चर्चा गर्दै उनले उन्नत प्रविधि र पूँजीको प्रयोगबाट जनसहभागितामुलक विकासको मोडल आफ्नोजस्ता मुलुकका लागि प्रभावकारी रहेको जानकारी दिए ।
उनले ‘हामीसँग जे छ, त्यसको प्रयोग गर्ने हो । हामी जलस्रोतमा अघि छौँ, त्यसमा विदेश लगानी ज्यादै आइरहेको छ । हामीले पनि आफ्नो आवश्यकता हेरेर त्यसलाई प्रश्रय दिइरहेका छौँ । छिमेकी र अरु ठूला मुलुकहरुले हाम्रो जलविद्युतमा लगानी गरिरहेका छन्’ भनेका छन् ।
नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भएको खबरले आफूहरुलाई समेत उत्साहित बनाएको भन्दै उपराष्ट्रपति भिफान्हले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल कम्युनिस्ट पार्टीको सरकार सक्षम हुने विश्वास पनि व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री नेपालले ‘सुखी नेपाली समृद्ध नेपाल’को नाराका साथ आफ्नो पार्टीले नेपालमा शासन सुरु गरेको एकवर्ष भएको, यस अवधिमा जनतामा आत्मविश्वास जागेको, विकासले सही दिशा पक्रिएको र आधार तयार भइसकेकाले अब परिणाम दिने गरी काम भइरहेको चर्चा गरे । उनले ठूला विकास परियोजनाका लािग लाओसको अनुभव आफूहरुलाई उपयोगी हुने अपेक्षा पनि व्यक्त गरे ।
‘हामी दुबै अति कम विकसित मुलुक हौँ, भूपरिवेष्ठित छौँ । हामीसँग पूँजी र प्रविधि कम छ । यस्तो अवस्थामा तपाईंहरुले अपनाएको विकासको मोडल हाम्रा लागि उपोगी हुन सक्छ’ पूर्वप्रधानमन्त्री नेपालको भनाई थियो । पछिल्ला दिनमा लाओसले हासिल गरेको तीब्र आर्थिक बृद्धिका लागि उनले सो पार्टी नेतृत्वलाई बधाईसमेत दिए ।
उक्त अवसरमा दुई कम्युनिस्ट पार्टीले विगतदेखि नै विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा गर्दै आएको सहकार्यको स्मरण गर्दै वरिष्ठ नेता नेपालले २१ वर्षअघि आफू आउँदाभन्दा अहिलेको लाओसमा धेरै परिवर्तन पाएको भनाई राखे ।
यसैगरी, लाओस कम्युनिस्ट पार्टीको मुख्यालयमा हिजो नेपाली प्रतिनिधिमण्डल र लाओस पिपुल्स रिभ्युलसनरी पार्टीको प्रतिनिधिमण्डलबीच पार्टीगत वार्ता भएको थियो । लाओसको पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रशिक्षण र प्रचार विभाग प्रमुख किकेओ खाइखामफिथोम, विदेश विभाग प्रमुख सुन्थोन सायाचाक, उपप्रमुख सिम्फोन सिचालेनलगायत सहभागी वार्तामा दुई देशका पार्टीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र अन्तर्राष्ट्रिय मञ्चहरुमा मिलेर काम गर्ने समझदारी भएको थियो ।
वरिष्ठ नेता नेपालको नेतृत्वमा विहीबार लाओस पुगेको टोलीमा नेकपाका स्थायी समिति सदस्यद्वय लीलामणि पोखरेल र छविलाल विश्वकर्मा, केन्द्रीय कमिटी सदस्यत्रय विष्णु रिजाल, जयन्ती राई र विना श्रेष्ठ तथा पुष्पलाल स्मृति प्रतिष्ठानका सदस्य अलि अख्तर मिकरानी सहभागी छन् ।
Comments