आगामी आर्थिक वर्षमा वृत्तभत्ता बढाउने प्रधानमन्त्री ओलीको आश्वासन
Published:
by .सिराहा । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् ।
शहीद हेमनारायण यादवको १५औं स्मृति सभालाई आज सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मधेसका बारेमा विभिन्न हल्ला चलाइए पनि सरकारका कामले ती सबै कुराको जवाफ दिने बताएका हुन् ।
“मधेसका बारेमा अनेक हल्ला चलाइएका छन् तर सरकारको कामले ती सबै कुराको जवाफ दिन्छ” प्रधानमन्त्री ओलीले भनेका छन् “हुलाकी सडकको निर्माण, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, तराई मधेस समृद्धि कार्यक्रम सबै तराईकै विकासका लागि सञ्चालन भएका हुन् । केही दिन अघि झापा विमानस्थलमा रात्रीकालिन उडान सेवा सुरु भएको छ । जनकपुरमा केही महिनामा यस्तो सेवा सुरु हुदैछ ।”
प्रधानमन्त्री ओलीले मधेसलाई काठमाडौंसँग जोड्ने द्रुत मार्ग, निजगढ विमानस्थल, कमला मरिन डाइभर्सनबाट तराईलाई सिंचाई गर्ने योजनाका कामहरु धमाधम भइरहेको प्रधानमन्त्रीको भनाई छ । यसैगरी तराईका जिल्लाका सदरमुकाम जोड्ने सडकहरुको स्तर वृद्धिका लागि आफू अघिल्लो पटक प्रधानमन्त्री भएका बेला सुरु गरिएको र अहिले काम धमाधम भइरहेको प्रधानमन्त्री ओलीले स्मरण गराएका छन् ।
प्रधानमन्त्री ओलीले वृद्धवृद्धाका हितका लागि सरकार सकारात्मक रहेको बताउँदै अघिल्लो सरकारले देशको ढुकुटी रित्तो पारेकोले चालू आर्थिक वर्षका लागि वृद्धभत्ता बढाउन नसकेको प्रष्ट पारे । “वृद्धभत्ता बढेन भनेर निरास हुनुपर्ने अब धेर दिन छैन” प्रधानमन्त्री ओलीले थपे “आउने आर्थिक वर्षमा वृद्धभत्ता अवश्य बढ्छ । सरकारले बढाउने छ ।”
२०६० साल माघ १९ गते तत्कालिन नेकपा (एमाले) सिराहा जिल्लाका अध्यक्ष एवम् सांसद हेमनारयण यादवको धनुषा र सिराहाको सिमाना पर्ने कमला खोलामा रहस्यमय हत्या भएको थियो । प्रधानमन्त्री ओलीले आजै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यालयको शिलान्यास गरेका छन् । यसैगरी आजै चन्द्र माध्यमिक विद्यालय सिराहा नगरपालिका १ मा छात्राबास भवनको पनि प्रधानमन्त्री ओलीले शिलान्यास गरिदिएका छन् ।
Comments