बिर्तामोड महोत्सवमा रौनक थपिँदै
Published:
by .बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव व्यवस्थित र उत्कृष्ट रहेको अवलोकनकर्ताहरुले प्रतिक्रिया दिएका छन् । महोत्सवका अवलोकनकर्ता तथा स्टलका सामान खरिदकर्ताहरुले बिर्तामोड महोत्सवको प्रशंसा गरेका हुन् ।
११ माघदेखि सञ्चालनमा आएको महोत्सवमा टाढाटाढादेखिका अवलोकनकर्ताहरु आउने क्रम जारी छ । अधिकांशले महोत्सव मन पराएको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । झापा सुरुंगाबाट महोत्सव अवलोकन तथा किनमेलका लागि आएका युवराज उप्रेतीले महोत्सवमा धेरै खालका उत्पादन सजाएर राखिएकाले आफूलाई निकै उपयोगी लागेको बताए ।
महोत्सवको स्टलमा ढाका टोपी किन्दै गर्दा भेटिएका उप्रतीले भने, ‘यस्तो महोत्सवले झापाको शानलाई अझ माथि पुर्याउँछ ।’ राजधानीबाट आफन्तकहाँ झापा आएकी प्रतिमा लामिछानेले बिर्तामोड महोत्सव उत्कृष्ट रहेको प्रतिक्रिया दिइन् । महोत्सवमा आफूले रोटेपिङको मज्जा लिनुका साथै सेलरोटीको स्वाद चाखेको बताइन् ।
महोत्सवको मुख्य प्रायोजक रमपम चाउचाउको स्टलमा खरिदकर्ताहरुको उल्लेख्य भीडभाड छ । सो स्टलमा एसियन थाई फुड्सका उत्पादनहरु रमपम चाउचाउ तथा गुडलाइफको जुस, बिस्कुट र चकलेट राखिएको सेल्स मेनेजर यदुनन्द दाहालले बताएका छन् ।
दाहालका अनुसार तीनवटा प्याकेटलाई ६० रुपैयाँ पर्ने रमपम चाउचाउ महोत्सवमा ५० रुपैयाँमै उपलब्ध छ । ‘५० रुपैयाँमा तीन प्याकेट चाउचाउ किन्नेले एउटा चिट्ठा तान्न पाउँछन्’ उनले भने, ‘चिट्ठामा कम्तीमा १० रुपैयाँको सामानदेखि ३ लिटरको राइसकुकरसम्म पर्छ ।’ चिट्ठामा १७ प्रकारका सामान उपहारका रुपमा राखिएको उनले सुनाए । बिर्तामोड महोत्सवमा व्यापार सन्तोषजनक रहेको उनको भनाई छ ।
महोत्सवमा जमराको जुसको फाइदाबारे परामर्श दिने स्टलसमेत राखिएको छ । स्टलमा जमराको जुसबारे बुझ्न आउनेहरुको संख्या उल्लेख्य छ । महोत्सवमा आइतबार डिज्ने प्ले स्कूलका विद्यार्थीसमेत अवलोकनका लागि आएका थिए । स्कूलका ३, ४ र ५ कक्षाका ३० जना विद्यार्थीलाई महोत्सव अवलोकनमा ल्याइएको प्रिन्सिपल सरोज जोशीले बताए । ‘विद्यार्थीलाई औद्योगिक महोत्सव देखाउन ल्याएका हौँ’ उनले भने, ‘यहाँ विद्यार्थीले विजयशाल, अग्र्यानिक कृषि उत्पादन, आदिबासी जनजातिको संस्कृति जान्ने अवसर पाए, उनीहरुले सेलरोटी पनि खाए ।’
महोत्सवमा आइतबार थारु कल्याणकारिणीसभा बिर्तामोडले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सभाका नगर सदस्य दिपेन्द्र चौधरीको अध्यक्षता तथा जिल्ला उपाध्यक्ष हरिनारायण चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा थारु समुदायका महिलाहरु जातीय भेषभुषासहित उपस्थित भएका थिए ।
महोत्सवको १०औं दिन आइतबारसम्ममा ६५ हजारभन्दा बढीले टिकट काटेर महोत्सव अवलोकन गरिसकेको महोत्सव आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालले बताए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईका अनुसार पूर्वका विभिन्न जिल्ला मात्र नभएर भारतीय सर्वसाधारणसमेत महोत्सव अवलोकन गर्न आइरहेका छन् ।
महोत्सवमा आइतवार बिर्तामोडका सागर सुव्वाले टाटाको कार खरिद गरेका छन् । खरिदकर्तालाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, सामाजिक अगुवा जलकुमार गुरुङ्ग र व्यवसायी इश्वर चिपालुले टाटा टियागो कारको चावी हस्तान्तरण गरे ।
महोत्सवमा सांगीतिक कार्यक्रममा झुम्न आउनेहरुको छुट्टै जमात छ । महोत्सवमा स्थानीय कलाकारले दिउँसो तथा राष्ट्रिय कलाकारले साँझमा प्रस्तुति दिइरहेका छन् । आज साँझ टिका प्रसाईं, दुर्गा ओलीलगायत कलाकारले स्टेज प्रस्तुति दिने महोत्सवका साँस्कृतिक समिति संयोजक श्याम खड्गीले जानकारी दिए ।
उनका अनुसार सोमबार साँझ चर्चित गायक कमल खत्री र गायिका जुनु प्रसाईंको विशेष प्रस्तुति रहनेछ । महोत्सवभरमा एड्रिन प्रधान, चन्दा देवानको पनि प्रस्तुति रहने बताइएको छ ।
२१० वटा स्टल रहेको महोत्सव २३ माघसम्म चल्नेछ । महोत्सवस्थलमा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत सञ्चालन भइरहेको छ । लायन्स क्लब अफ बिर्तामोडको आयोजना तथा रेडक्रस बिर्तामोडको प्राविधिक सहयोगमा भइरहेको रक्तदान कार्यक्रममा रगत दान गर्नेको संख्या ७५ पुगेको छ ।
सोमबार हाडजोर्नी तथा नशा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर रहेको महोत्सव स्वास्थ्य उपसमिति संयोजक गौरीशंकर गुप्ताले जानकारी दिए । महोत्सवमा नयाँ श्रीनाथ गण चारआलीले सर्पदंशबारे चेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यसैबीच लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ ले महोत्सवस्थलबाट आइतबार अपाङ्गता भएका एक जनालाई ह्वीलचियर प्रदान गरेको छ । लायन्स क्लब अफ बिर्तामोडमार्फत् उक्त ह्वीलचियर लखनपुरका ५० वर्षीय इश्वरचन्द शहनीलाई प्रदान गरिएको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ का गभर्नर अनन्तप्रसाद भेटुवालले बताए ।
अपाङ्गगता भएका व्यक्तिलाई दिनका लागि लायन्स क्लबलाई अमेरिकाको टेक्ससबाट १८२ वटा ह्वीलचियर प्राप्त भएको उनको भनाई छ । सोही अवसरमा डिस्ट्रिक गभर्नर भेटुवालले छालादान सम्बन्धी सचेतना प्रदान गरेका थिए । महोत्सवस्थलमा आइतबार एकैदिन २५ जनाले छाला दान गर्ने फारम भरेका छन् ।
Comments