मनकामना कलेजको वार्षिक उत्सवमा दीर्घसेवीलाई सम्मान
Published: (Updated: )
by .बिर्तामोड । झापाको बिर्तामोडमा रहेको मनकामना कलेजको २०औं वार्षिकोत्सव समारोहमा त्यहाँ सेवारत दर्जन हाराहारी प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा सम्मान गरिएको छ ।
आज क्याम्पस परिसरमा आयोजना गरिएको वार्षिकोत्सव समारोहमा अंग्रेजी विषयका उपप्राध्यापक हेमकुमार उप्रेती र पत्रकारिता तथा आमसञ्चार विषयका उपप्राध्यापक गोपाल काफ्लेलाई दीर्घसेवा सम्मान गरियो । यस्तै, जनसंख्या शास्त्रका उपप्राध्यापक डिल्लीराम अधिकारी र लेखाशास्त्रका अर्जुन न्यौपानेले पनि दीर्घसेवा सम्मान पाएका हुन् ।
स्नातक तह चौथो वर्षका उमेश बरालको अध्यक्षता तथा बिर्तामोड नगरपालिका शिक्षा शाखाका प्रमुख युवराज पाण्डेको प्रमुख आतिथ्यमा वार्षिकोत्सव समारोह गरिएको थियो । औपचारिक सत्र कार्यक्रमको सञ्चालन बी ए तेस्रो वर्षका गोकुल पौडेलले गरेका थिए भने स्नातक तह तेस्रो वर्षका रोशन भट्टराइले उपस्थितहरुलाई शाब्दिक स्वागत गरेका थिए ।
कार्यक्रममा विभिन्न तहबाट उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । यस्तै गत महिना भएको भलिबल प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो । कौटिल्य एजुकेशन फाउण्डेसनका अध्यक्ष कुमार बस्नेत, क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, बिर्तामोड १ का वडाध्यक्ष अग्नि पाण्डे एवम् दीर्घसेवा सम्मानितहरु मध्येबाट हेमकुमार उप्रेतीलगायतले कार्यक्रममा आ–आफ्ना धारणा राखेका थिए ।
कक्षा ११ तथा स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत समेत गरिएको वार्षिकोत्सव समारोहमा परीक्षा शाखाका प्रमुख सूर्यकुमार थापा र राजेन्द्र धिमाल तथा चालकहरु रमेश गिरी, टेकेन्द्र सुब्बा र लक्ष्मण तामाङले पनि दीर्घसेवा सम्मान पाएका छन् ।
अनौपचारिक सत्रमा विविध सांस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए । ४५ वटा विभिन्न सेग्मेन्टमा विद्यार्थीले आफ्ना प्रस्तुतिहरु पस्केको क्याम्पसका कोअर्डिनेटर कुमार थपलियाले बताए ।
अनौपचारिक सत्रमा गीत, नृत्य, प्रहसन, कविता, गजल लगायतको प्रस्तुति रहेको थियो भने कार्यक्रमको सञ्चालन संगीता कोइराला र इन्साफ भाइ ढुङ्गेल अनि पुष्पा चापागाईं र हरिकृष्ण भण्डारीको जोडीले गरेको थियो ।
Comments