Sajhamanch Archive

बिएण्डसीमा यसैवर्षदेखि एमबीबीएस कक्षा सुरु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

बिर्तामोड । यहाँस्थित बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलमा यही फागुन १ गतेदेखि १५ दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । आज पत्रकार सम्मेलन गरी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले अस्पतालको सामाजिक सेवा कार्यअन्तरगत सर्वसाधारणलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताए ।

उनले भने ‘आजकै मितिबाट लागू हुनेगरी अस्पतालले दिने सबै किसिमका सेवाको शुल्क सामुदायिक अस्पताल सरहको बनाएका छौं र सबैखाले रोगी बिरामीहरुले अब थप सहजताका साथ स्वास्थ्य उपचार गर्न पाउने विश्वास लिएका छौं ।’

‘टिचिङ हस्पिटल सञ्चालन गर्ने सोचले सुरु गरिएको अभियानमा सम्बन्धन नपाउँदा लामो समयसम्म घाटामा अस्पताल सञ्चालन गरिरहनु परेको छ र कतिपय सेवाग्राहीलाई हिजो मर्का पर्यो पनि होला, तर आजकै मितिबाट अस्पतालले दिने सबै सेवाहरुको शुल्क समायोजन गरेका छौं’ कार्यकारी निर्देशक प्रसाईंले पत्रकारहरु माझ सुनाए ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा सांसदले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ ले बि एण्ड सीलाई विधिवतरुपमा मेडिकल कलेजको बाटो खोलिदिएकाले आगामी शैक्षिक वर्षदेखि एमबीबीएस कक्षा सञ्चालन गरिने पनि उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, यो प्रयास सफल भएसँगै दूरदराजसम्म शिक्षा स्वास्थ्यको पहुँच पुर्याउन एउटा ईंटा थपिनेछ । स्वास्थ्य शिक्षाको नाममा वर्षेनी बाहिरिने दुई खर्ब हाराहारी रकम जोगिनेछ । देशभित्रै सस्तो र सुलभरुपमा डाक्टर पढ्न पाइनेछ ।

बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलमा एमबीबीएस अध्ययन गर्न आउने १०० जना विद्यार्थीको कोटामा राज्यको नीतिअनुसार १० प्रतिशत आरक्षण गरिएको र सो पूर्णतः निशुल्क रहने पनि प्रसाईंले अवगत गराए ।

बि एण्ड सीले थप गर्न लागेको पूर्वाञ्चल क्यान्सर हस्पिटलको भौतिक संरचनाहरु निर्माण कार्य अन्तिम चरणमा रहेकाले अब केही महिनाभित्रै सञ्चालन गर्नेगरी मेसिन औजारहरुको खरिद प्रक्रिया सुरु गरिएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *