खुदुनाबारीमा एकीकृत घुम्ती शिविर, सयौंले पाए आँगनमै सेवा
Published:
by .अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नम्बर १, २ र ३ लाई लक्षित गरी आज एकीकृत घुम्ती शिविर गरिएको छ । नगरपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय झापाको संयोजनमा शिविर सञ्चालन भएको हो ।
शिविरमा करिव २५ सय सर्वसाधारण नागरिकहरुले दर्जनौं सेवा लिएका छन् । शिविरमा नागरिकता वितरण र फोटोसहितको मतदाता नामावली संकलनजस्ता प्रशासनिक कार्यहरु गरिएका थिए । यस्तै, निःशुल्क आँखा शिविर, स्वास्थ्य शिविर, सर्पदंश प्राथमिक उपचार विधिको जानकारी दिइयो । साल्ट ट्रेडिङ कर्पोरेसनले सहभागी सेवाग्राहीहरुलाई आयोडिनयुक्त नून वितरण गरेको शिविरमा सशस्त्र प्रहरीबल झापा २ नम्वर गणबाट विपद व्यवस्थापनका लागि नागरिकहरु समक्ष प्रविधिको प्रस्तुति पनि दिइयो ।
यस्तै, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाबाट पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर, कृषि ज्ञान केन्द्र झापाबाट घुम्ती बाली उपचार शिविर तथा माटो परीक्षणजस्ता सेवाहरु शिविरमा प्रवाह भएका छन् ।
अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, उपप्रमुख कमला खतिवडा, वडा नं. ३ का अध्यक्ष जीवकुमार भण्डारीबाट सेवाग्राहीलाई संयुक्तश्रपमा नेपालको नागरिकता प्रदान गरेर शिविरको उद्घाटन गरिएको थियो ।
नागरिकहरुलाई घर घरमा सेवा प्रवाह गर्ने उध्येश्य राखेर शिविर सञ्चालन गरेको वताउदै अर्जुनधारा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष जिवकुमार भण्डारी भन्छन स्थानिय सरकार नागरिकहरुका घर दैलोमा आएको अनुभुति गराउदै सहज तवरले सेवा प्रवाह गर्न शिविर सञ्चालन गरेको वताए ।
खुदुनाबारीको जनता माद्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालित शिविरबाट नागरिकहरुले जिल्ला धाउनु पर्ने झन्झटबाट मुक्ति मिलेको प्रधानाध्यापक जयप्रकाश भण्डारीको भनाई छ । त्यसैगरी जनप्रतिनिधि निर्मला घिमिरेले शिविरको बारेमा प्रचारप्रसार गरेअनुसार नै सेवाग्राहीको सहभागिता रहेकोले शिविरबाट नागरिकले भरपुर फाइदा उठाएको विश्वास व्यक्त गरिन् ।
Comments