Sajhamanch Archive

काँकरभिट्टाबाट ५ करोडभन्दा बढीको बन्दाकोपी बर्सेनी भारत जान थाल्यो

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

मेचीनगर । पछिल्ला वर्षहरुमा नेपालमा उत्पादित बन्दाकोपीले भारतीय बजारमा छाप छाड्न सफल भएका छन् । पूर्वी पहाडी जिल्ला धनकुटा र तेह्रथुमका विभिन्न ठाउँमा उत्पादित बन्दाकोपी काँकरभिट्टा नाका भएर भारततर्फ निर्यात हुने गरेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको हो ।

व्यावसायिकरुपमा उत्पादन हुने बन्दाकोपीको माग भारतीय बजारमा प्रश्स्त रहेका कारण आर्थिक वर्ष २०७४/०७५ मा काँकरभिट्टा नाका भएर ५ करोड ८६ लाख ४८ हजार रुपैयाँ बराबरको ७ हजार ३३१ मेट्रिक टन बन्दाकोपी भारत निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयका प्राविधिक विनयकुमार साहले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७३/०७४को तुलनामा ९० लाख रुपैयाँले निर्यात बृद्धि भएको पाइएको हो । उक्त वर्ष ४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ६ हजार २०५ मेट्रिक टन बन्दाकोपी भारत निर्यात भएको थियो ।

चालू आर्थिक वर्ष २०७५/०७६ को पहिलो ६ महिनामा ५ करोड १९ लाख १० हजार रुपैयाँको ५ हजार १९१ मेट्रिक टन बन्दाकोपी भारत निर्यात भएको साहले जानकारी दिएका छन् । साउनदेखि मंसीर महिनालाई व्यवसायीहरुले बन्दाकोपीको सिजनका रुपमा लिने गरेका छन् । भारतको सिलगडी–जलपाइगुडी एवम् विहारका विभिन्न स्थानमा नेपाली बन्दाकोपीको माग निक्कै हुने गरेको व्यावसायीहरुको भनाई छ ।

माग बढेसँगै निर्यातमा समेत बृद्धि हुने गरेको व्यवासयी बताउँछन् । माग बढे पनि भारतीय व्यापारीहरुले उचित मूल्य नदिने भएकाले नेपाली कृषकले उत्पादन लागतमा केही जोडर बिक्री गर्ने गरेको व्यवसायीहरुको भनाई छ ।

बन्दाकोपीको सिजन शुरु भएपनि किसानले उचित मूल्य नपाउँदा अनेकन समस्या झेल्नु परेको धनकुटाका कृषक रामबहादुर खत्रीको भनाई छ । सिजन शुरु भएसँगै दैनिक ठूलो परिमाणमा बन्दाकोपी निर्यात हुने गरेको बताइन्छ । किसानले उचित मूल्य पाउँदा सिजनमा दैनिक ८ देखि १५ ट्रकसम्म बन्दा निर्यात हुने गरेको व्यावसायी खत्रीको भनाई छ ।

विगतका सिजनमा भारतीय १२ देखि १५ रुपैयाँ प्रतिकेजी बिक्री हुने गरेको बन्दाकोपी कहिले काहीँ ६ देखि ७ रुपैयाँ प्रतिकेजीमा समेत बिक्री नहुने व्यवसायीको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *