ऊ पनि आफ्नो आदर्श लिलाम गर्न विवश भइरहेछ
Published: (Updated: )
by .दृष्य १ : एउटा प्रतिभावान व्यक्ति दुःख गरेर पढ्छ । स्नातक वा स्नातकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण हुन्छ । कामको खोजीमा ऊ लोकसेवा आयोगको परीक्षा दिन्छ । दुईवर्ष लगाएर पढेर परीक्षा पछि ऊ शाखा अधिकृत पास हुन्छ । सरकारी नोकरीको क्रममा मालपोत कार्यालयमा पदस्थापन हुन्छ ।
दृष्य २ : विद्यार्थी जीवनमा ऊ भ्रष्टाचारको तीब्र विरोध गर्दथ्यो । आफू आदर्श जीवन बाँच्ने सङ्कल्प गथ्र्यो । भष्टाचार विरोधी अभियानमा सरिक हुने गथ्र्यो । ऊ जीवनमा आफूले भ्रष्टाचार नगर्ने प्रण गर्दथ्यो । अनि अरुलाई पनि भ्रष्टाचार नगरौं भन्थ्यो ।
दृश्य ३ : आज उही व्यक्ति जागिर खान थालेको दुईवर्ष भित्रमा शहरमा ठूलो कम्पाउण्डमा तीन तले घर बनाएर आलिसान महलमा बस्छ । श्रीमतीलाई सुख—सुविधामा राखेको छ । छोराछोरीलाई महङ्गा गाडी चढाएर महङ्गा विद्यालयमा पठाउँछ । आखिर उसको यो भौतिक समृद्धि कहाँबाट आयो ?
हामीसँग सजिलो उत्तर छः भ्रष्टाचार गरेर यो सब सम्भव भयो । हुन पनि त्यही नै हो । अहिले ऊ विदेशमा छोराछोरी पढाउँदैछ, आफू करोडको गाडीमा हिंड्छ । जागिर उही शाखा अधिकृत हो । उसको तलवबाट उसलाई यो सम्भव छैन । घरगाउँले आज उसकै प्रसंशा गर्छन् । नाता—कुटुम्ब, छरछिमेकी कति चाँडै प्रगति गर्यो भन्दै खुशी छन् । आफन्तजन पनि आफ्नो मान्छे चाँडै यत्तिका पैसावाल भएकामा गर्व गर्दछन् । छोराछोरी श्रीमती राजसी खानदानमा बाँचेका छन् । वीर मान्छे रहेछन्, जागिर खाएर कत्रो प्रगति गरे कति चाँडो भन्दै आफ्नो मान्छेले यसरी गैर कानूनी आर्जन गरेकोमा गर्व गर्छन् । यत्रतत्र सर्वत्र उसकै नाम चल्छ ।
बिस्तारै उसको सम्पत्ती दिन दुगुना रात चौगुना बढ्दै जान्छ । आमाबुवा दाजुभाइ यत्रो अकूत सम्पत्ती यति चाँडै कमाउन सकेकोमा उसको प्रशंसा गर्दै अरुलाई सुनाउँछन् । आफूलाई पनि अभरमा काम लाग्छ भनी उसको ज्यू हजुरी गर्छन् । सारा समाजले नै उनको सम्पत्ती आर्जनको समर्थन गर्दै वाहवाह बधाई दिन्छन् । उसले के कसरी कस्तो कार्यबाट सम्पत्ती आर्जन गरेको छ, सबैलाई थाहा नै छ । फेरि उसले खाएको तलबबाट यो सम्भव छैन भन्ने पनि थाहा छ । तै पनि समाज ताली बजाउँछ, आफन्तहरु दङ्ग, मख्ख पर्छन् ।
यसरी हाम्रो समाज नै मानिसलाई भ्रष्टाचार गर्न उक्साउँछ, उचाल्छ, प्रोत्साहन दिन्छ । अनि कमाउन नसके गाली गर्छ, थुक्छ् । बेकामे र डरपोख, आँट नभएको, कामै नलाग्ने लाटो, मूर्ख भन्दै भ्रष्टाचार नगर्ने कर्मचारीलाई हतोत्साहित गर्छन् । आदर्श जीवन बाँच्न नदिएर निरुत्साहित गर्छन वा पैसा कमाउन दबाव दिन्छन् र बाध्य भएर ऊ पनि भ्रष्टाचारी बन्छ ।
यसरी हाम्रो समाजमा आदर्श मूल्य मान्यता निरन्तर स्खलन भइरहेछ । पवित्र चोखो मान्छे पछाडि पर्दैछन् । समाजको एउटा आदर्श, अनुकरणीय व्यक्तित्व उदाहरणीय मान्छे बन्न बनाउन हाम्रै समाज बाधक भइरहेछ । आदर्श व्यक्तित्व निर्माणमा हाम्रो समाज तगारो बनिदिन्छ । अनि कसरी बन्छ हाम्रो देश ? कसरी अन्त्य हुन्छ भष्टाचार ? प्रश्न यही हो आजको ।
देशमा धेरै राम्रा, असल, आदर्श, सङ्लो चरित्रका मानिस अहिले पनि प्रसस्त छन् । निजामती प्रशासनमा होस् वा जङ्गी प्रशासनमा वा सामाजिक अगुवा कार्यकर्ता अथवा राजनीति मै पनि धेरै मानिस सुशासनका पक्षपाती, सदाचारी छन् । तर तिनलाई आफ्नो विचारमा बाँच्न कठिन भइरहेछ । भ्रष्टाचार गर्न दबाव छ । परिवार आफन्तजन जसरी भएपनि धेरै पैसा कमाउन बाध्य पारिरहेछन् । ऊ पनि आफ्नो आदर्श लिलाम गर्न विवश भइरहेछ ।
यसै कारणले पनि भन्न सकिन्छ, हाम्रो समाजमा भ्रष्टाचारको पक्षपोषक अनि अकूत सम्पत्तीको लोभी, पैसाको दास र द्रव्य पिशाचहरु निरन्तर बढिरहेछन् । “धन नै सबैथोक” भन्ने मान्यताले समाजमा जरो गाडिरहेछ । भ्रष्टाचार संस्थागत र अनिवार्य बन्दैछ । यस्तो लाग्छ, अब भ्रष्टाचार नगरी समाजमा बाँच्न सकिन्न । नत्र कि त छेउ लाग्नुपर्छ वा टुलुटुलु हेरिरहनु पर्छ । जीवन झन् झन् व्यक्तिवादी, धनमुखी र द्रव्यपिशाची प्रवृत्तिले जरा हालिरहेछन् । पैसा नभए केही हुन्न । पैसा नभए गरीब कमजोर सर्वसाधारण निमुखा जनताले जिउँदै मर्नुपर्छ । यही रहेछ, उपभोक्तावादी खुला बजारको विशेषता । जहाँ गरीब झन् निमुखा, गरीब र धनी अझ धनी बनिरहेछन् । यसरी भ्रष्टाचारको अन्त्य कसरी हुन्छ !?
(लेखक प्रसाईं मनकामना कलेज बिर्तामोडका सहायक क्याम्पस प्रमुख हुन् ।)
Comments