Sajhamanch Archive

अब भद्रपुर क्षेत्र पनि हेलिकप्टरबाट हेर्न पाइने !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । पुरातात्विक महत्व बोकेको धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबध क्षेत्रका संरक्षित संरचना असुरक्षित बन्दै गए पनि सरोकारवाला बेखबर देखिएका छन् ।

पाषणकालिन ऐतिहासिक महत्व बोकेका २२ सय वर्ष पूराना भग्नावशेषका सुरक्षा पर्खाल भत्काउने, फुटाउने कार्य भइरहेको सो क्षेत्रमा सुरक्षा पोष्टले चाल नपाउँदा सो क्षेत्रका संरक्षित संरचना असुरक्षित बन्दै गएका हुन् । वि. सं २०५६ सालबाट पुरातत्व विभागले उत्खनन् सुरु गरेको किच्चकबध क्षेत्रमा २०७३ सम्ममा १४औं र २२औं शताब्दीका दरबार क्षेत्र तथा विभिन्न हतियारसहित घरायसी सामग्री फेलापारी दरबार क्षेत्र संरक्षण गर्न संरक्षण क्षेत्रलाई जिम्मा लगाएको थियो ।

किच्चकबध ऐतिहासिक तथा धार्मिक संरक्षण समितिले एक्लै सो क्षेत्र संरक्षण गर्न नसक्ने भएपछि २०७२ सालबाट गृह मन्त्रालय मार्फत अस्थायी प्रहरी चौकी स्थापना गरेको थियो । गत वर्षबाट स्थायी प्रहरी चौकी भएको सो क्षेत्रमा प्रहरी सहायक निरीक्षक (असई)–को नेतृत्वमा ११ जनाको दरबन्दीसहित प्रहरी परिचालन गरिएको छ ।

उक्त प्रहरी चौकीको जिम्मेवारी धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबध क्षेत्रका ऐतिहासिक महत्व बोकेका सम्पदाको सुरक्षा गर्नु हो । तर सो क्षेत्रमा भ्रमण गर्ने जो कोहीका नजरमा आउने दृष्यले संरक्षण क्षेत्रका पर्खालका टुटफुट र वेवारिसे अवस्थाले भने संरक्षण समिति र सुरक्षाकर्मीको जिम्मेवारी प्रश्न खडा गर्ने गरेको छ ।

संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबे भन्छन्, ‘समितिले सम्पदाको भौतिक सुरक्षा गर्न नसकेकै कारण प्रहरी चौकी स्थापना गरिएकोले धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबध क्षेत्रका संरक्षित संरचना सुरक्षित राख्नु प्रहरीको जिम्मेवारी हो ।’

तर, प्रहरी चौकीका प्रमुख गोविन्द शिवाकोटी भने संरक्षित क्षेत्रमा जो कोही पस्न पाउने भएका कारण कुन बेला कसले संरक्षित क्षेत्रका पर्खाल भत्काउँछ भन्ने थाहा नपाएको जिकिर गर्छन् । उनले केटाकेटीहरू पस्ने कारण पर्खालका इँटा खेल्ने क्रममा फुटेको हुन सक्ने तर्क गरेका छन् ।

सो क्षेत्रमा वि. सं २०७१ सालबाट २० वर्षे रणनीतिक कार्य योजना अनुसार ५२ करोड ५६ लाखको संरचना निर्माण कार्य भइरहेको सचिव मदनकुमार कँडेलले जानकारी दिए । सचिव कँडेलका अनुसार हाल संरक्षित क्षेत्रको घेराबारा अन्र्तगत ५० प्रतिशत पर्खाल निर्माण सम्पन्न भइसकेको छ । अन्य काममा वनभोज स्थल निर्माण खोला तटबन्धन र सडक स्तरीकरणका काम चालू छन् ।

यसैबीच, किच्चकबध ऐतिहासिक तथा धार्मिक संरक्षण समितिले विगत वर्षहरु जस्तै यो वर्ष पनि मेला लगाउने भएको छ । स्वस्थानी पूर्णिमाको अवसर पारेर फागुन ७ र ८ गते पर्यटकीय पहिचानका लागि लगाइने मेलामा यस वर्ष हेलिकप्टर सयर महत्वपूर्ण हुनेगरी मेला आयोजना गरेको हो । हालै बिर्तामोडमा सम्पन्न औधोगिक व्यापार महोत्सवमा हेलिकप्टर सयर आकर्षणको केन्द्र बनेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *