Sajhamanch Archive

छोराको ज्यान बचाउन परिवार नै विस्थापित !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । छोराछोरीको प्रगति र लोकप्रियताले पनि कुनै परिवारको उठिबास हुँदो रहेछ भनेको सुन्दा आश्चार्य लाग्न सक्छ । यस्तै भएको छ झापाको भद्रपुरमा ।

१८ वर्षदेखि शिक्षण पेसामा रही भद्रपुरका नामी शैक्षिक प्रतिष्ठानहरु एमरल्ड एकाडमी र मुनाल एकाडमीको नेतृत्व गरिसकेका इन्द्रबहादुर खतिवडाको भोगाई हो यो । उनी आफ्नो सिङ्गो परिवार लिएर गत मंसीर महिनाको अन्तिम साता एकाएक गायव भएका थिए । यसको रहस्य दुई महिना पछि बल्ल खुलेको छ ।

आफ्नो १० वर्षीय छोरो आविष्कारलाई अपहरण गर्ने, फिरौती वापत रकम माग गर्ने र नदिएमा छोरोलाई मारिदिने सम्मको धम्की आएपछि आफूले थातथलो छाडेर सुरक्षित ठाउँ रोज्नु परेको रहस्य खतिवडाले खोलेका छन् । नृत्यमा अब्बल रहेका आविष्कारले प्रतियोगिताहरुमा विजय हासिल गर्न थालेपछि विभिन्न महोत्सव र कार्यक्रममा माग बढ्न थालेको थियो ।

छोराको प्रगति र बाबुको पहिचानबाट आर्थिक फाइदा लिन खोज्ने आपराधिक तत्वले सामाजिक सञ्जालको सहयोगमा १० लाख रुपैयाँ मागेको थियो । खतिवडाले पनि एकपटक दुई लाख रुपैयाँ बुझाएको वक्तव्यमा उल्लेख गरेका छन् ।

भद्रपुर नगरपालिका ३ ज्ञानेचौकमा बसोबास गर्ने शिक्षक खतिवडालाई विभिन्न डर धम्की दिएर रकम लिने समूहले फेरि १० लाख रुपैयाँ नदिए छोरा आविष्कारलाई अपहरण गर्ने र मारिदिने भनेपछि आफूले सोही दिन भाग्नु परेको वक्तव्यमार्फत् जनाएका छन् ।

विद्यालयको जिम्मेवार पदमा रहेका खतिवडा बिना जानकारी एकाएक हराएपछि संस्थागत नेतृत्वमा समेत प्रश्न उठेको थियो । शिक्षक खतिवडा एकाएक गायव भएपछि आर्थिक हिनामिनाको चर्चा पनि नचलेको होइन । तर रकम बारे अहिलेसम्म कसैले माग दाबी भने गरेका छैनन् ।

आफू कार्यरत विद्यालयलाई पनि औपचारिक जानकारी नगराई एकाएक भाग्नु परेको उल्लेख गर्दै खतिवडाले भनेका छन्, भारतको सुरक्षित स्थानमा परिवारलाई शरण दिलाएपछि आज वक्तब्यमार्फत् सबैसमक्ष थातथलो छाड्नुको भेद खोलेको छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *