Sajhamanch Archive

झापाका स्थानीय तहहरुको पहिलो प्राथमिकतामा पूर्वाधार विकास

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by .

इलाम । झापाका स्थानीय तहहरुले पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिने गरेको पाइएको छ । जिल्ला समन्वय समिति झापाले आयोजना गरेको एक कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले आ—आफ्नो स्थानीय तहको प्रगति प्रस्तुत गर्ने क्रममा अधिकांशले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको पाइएको हो ।

पदभार ग्रहण गरेपछि आफ्नो पालिकामा गरेका विकास निर्माण लगायत कामका बारेमा आफूलाई मन परेका ५ वटा विकास निर्माणको लिखित विवरण माग गरी छलफल गरिएको थियो । सहभागीहरुले अबको १० वर्षपछि झापालाई कस्तो रुपमा हेर्न सकिन्छ वा अबको १० वर्षपछि झापा कस्तो जिल्लाका रुपमा हेर्ने मन छ भन्ने विषयमा समेत आ—आफ्नो धारणा राखेका थिए ।

मानव संशाधन विकासका क्रियाकलापहरु अत्यन्तै न्यून रहेको प्रतिवेदनहरुले देखाएका थिए । यसैगरी सामाजिक तथा वातारणका क्षेत्रमा स्थानीय तहहरुले काम गरेको पाइएको छ । सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारालाई साकार पारेर समृद्ध नेपाल निर्माणमा झापा लाग्ने जिल्ला समन्वय समिति झापाले जनाएको छ ।

जिल्ला समन्वय समिति झापाले ‘समृद्ध झापा सुखी झापाली’ भन्ने नाराका साथ दुई दिने झापा जिल्ला स्तरीय गुरुयोजना सम्बन्धी कार्याशाला गोष्ठी शनिबार सम्पन्न गरेको हो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जिल्ला भित्रका भइरहेका विकास कार्यको समीक्षा गरी भावी योजना निर्माणमा सहजीकरण गर्नु, संविधानको व्यवस्था (समाजवाद उन्मुख व्यवस्था, मौलिक हक कार्यान्वयन, लोक कल्याणकारी राज्य, समावेशिता), सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय परिकल्पना, सन् २०३० अगाडि नै दीगो विकासका लक्ष्य पूरा गर्ने नेपाल सरकारको प्रतिबद्धता, जिल्ला गौरव र अन्तरपालिका, जिल्ला, प्रदेश वा राष्ट्रलाई प्रभाव पार्ने योजनाहरुप्रति अपनत्व सिर्जना गरेर तिनको कार्यान्वयनमा साझा बुझाई बनाउने तथा जिल्लाको समग्र विकासको गुरुयोजना निर्माणको प्रारम्भ गर्नु नै कार्याशाला गोष्ठीको मुख्य उद्देश्य रहेको थियो ।

गोष्ठीमा झापाका १५ वटै स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष एवम् प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो । गोष्ठीमा प्राध्यापक उमेश उपाध्याय र डाक्टर तत्व तिम्सिानले ‘समाजवाद नै हाम्रो दीर्घकालिन लक्ष्य र हाम्रो भविष्यः झापाको एकीकृत विकास योजना’को अवधारण पत्र प्रस्तुत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *