Sajhamanch Archive

पाँचथरको कुम्मायकमा डीप बोरिङबाट पानीको जोहो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिका क्षेत्रमा लामो समयदेखि खानेपानीको सङ्कट छ । त्यसैले यहाँका बासिन्दाले ‘डीप बोरिङ’ प्रविधिबाट पानीको जोहो गर्दै आएका छन् ।

प्रदेश सरकारको एक अर्ब लगानीमा गाउँपालिकाका तीन स्थान उत्तिसे, बतासे र मल्लिडे क्षेत्रमा डीप बोरिङबाट पानी निकाल्न लागिएको पछि उत्तिसेबाट दैनिक ९ घण्टा पानी आपूर्ति भइरहेको छ । बतासे र मल्लिडे क्षेत्रबाट पनि पानी निकाल्न धमाधम काम भइरहेको खानेपानी उपभोक्ता समितिका सचिव खेमराज निरैलाले बताए ।

कुम्मायक गाउँपालिका केन्द्र रहेको यासोक बजारलाई समेट्ने गरी उत्तिसेबाट पहिलो चरणमा पानी निकालिएको छ । सिंगो गाउँपालिकाबासीले यो पानी प्रयोग गरिरहेका छन् । लामो समयदेखि पानीको चरम संकट व्यहोर्दै आएका यहाँका बासिन्दा बसाईं सर्ने अवस्थामा पुगेका थिए ।

उनीहरुले निक्कै टाढाको तमोर खोलाबाट गाडीमा पानी ओसारेर पनि निर्वाहा गरिरहेका थिए । तर, अब प्रदेश सरकारका अर्थमन्त्री इन्द्र आङ््वोको विशेष पहलमा डीप बोरिङबाट पानी निकाल्न थालिएपछि भने स्थानीयबासीमा हर्षको सीमा नाघेको छ ।

२३७ मिटर जमिन मुनिीबाट निकालिएको पानी गाउँपालिकाबासीले मनग्ये प्रयोग गर्न पाइरहेका छन् । कुम्मायक गाँउपालिका ४ उत्तिसेमा डीप बोरिङ प्रविधि चलिरहेको छ । यो पानी गाउँपालिकाका करिब २० हजार बासिन्दाले उपभोग गर्न पाउने आयोजनाका अधिकारीहरुको भनाई छ ।

स्थानीय आकाश पौडेललाई यसअघि तमोर खोलाबाट ट्याङकरमा प्रतिलिटर ६० पैसामा पानी किनेर प्रयोग गर्नुपर्र्ने वाध्यता थियो । नुहाउन, लुगा धुन दिन नै माया मारेर ५, ६ घण्टा पैदल हिंडेर तमोर पुग्नुपर्ने बाध्यता थियो । तर, अब यी तमाम वाध्यताहरु हट्दै गएको उनी बताउँछन् । ओरालोमा घर भएकाहरुलाई भने निर्माणाधीन तमोर लिफ्ट खानेपानी आयोजनाको पाइपलाइनबाट पानी सिमित क्षेत्रमा वितरण गरिएको समितिका अध्यक्ष अमरसिंह थापाले जानकारी दिए ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाँचथरका प्रमुख सुरतलाल चौधरीले डीप बोरिङ प्रविधिबाट पानी निकालेर वितरण गरी खानेपानीको समस्या तत्कालका लागि हल भएको तर दीर्घकालिन समाधानका लागि तमोर लिफ्ट खानेपानी आयोजना निर्माण भइरहेको जानकारी दिए । उनले भने, ‘खानेपानी आयोजना बनेपछि स्थानीयका समस्या पूर्ण रुपमा हल भएर जाने निश्चित छ ।’

प्रदेश सरकारले तत्कालिन रुपमा समस्या समाधानका लागि डीप बोरिङ प्रविधिबाट खानेपानीको ब्यवस्था गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताए । उनका अनुसार अन्य दु्ई स्थानमा पनि अब चाँडै काम सम्पन्न गरी जनताका घरघरमा पानी पुर्याउने लक्ष्य रहेको छ । कुम्मायक गाउँपालिका सदरमुकाम फिदिमबजारबाट ३० किलोमिटर टाढा पर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *