दुवईको प्रदर्शनीः नेपाली स्टलमा आकर्षण
Published:
by .युएई । दुवईमा भइरहेको गल्फ फुड प्रर्दशनी (खाडी खाद्य ।। खाना प्रर्दशनी)मा नेपाली उत्पादनप्रति विभिन्न मुलुकका अवलोकनकर्ता आकषिर्त भएका छन् । नेपालमा उत्पादन हुने मध्येका पाँच सामग्री चिया, अलैँची, अदुवा, कफी र खानेपानी प्रदर्शनीमा राखिएको छ । ती नेपाली सामग्रीमा विभिन्न मुलुकका अवलोकनकर्ता आकषिर्त देखिएका हुन् ।
साउदी अरब, वहराइन, ओमन, भियतनामलगायतका राष्ट्रका अवलोकनकर्ताले नेपाली उत्पादन आफ्नो देशसम्म पुर्याउन चाहेको नेपाल अलैचीँ व्यवसायी महासंघका कोषाध्यक्ष सुवास भट्टराईले जानकारी दिए । उनले भने, ‘भिजिटर आउने र सामानबारे खोधिखोजी गर्ने गरिरहेका छन् ।’ उनले कतिपयलाई सामग्रीबारे जानकारी भएको तर नेपालमै उत्पादन हुन्छ भन्ने जानकारी भने उनीहरुलाई नभएको भट्टराईले बताए । अलैचीँमा धेरैको चासो रहेको उनले बताए ।
खाडी राष्ट्रमा नेपाली उत्पादन सामग्रीको माग रहेता पनि बजारिकरणको मुख्य समस्या छ । तर, यस किसिमको प्रदर्शनीबाट नेपाली उत्पादन सामग्रीको प्रचारमा फाइदा पुगेको नेपाल अलैचीँ व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईको भनाई छ । नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजार पाएमा स्थानीय कृषक र व्यापारी लाभान्वित हुने सरोकारवालाहरुले बताउँदै आएका छन् । बजारिकरणका लागि व्यवसायीको प्रयासमा सरकारले पनि सहयोग गर्नुपर्ने आवाज उठ्दै आएको छ ।
यस पटकको सहभागिताले नेपाली उत्पादनलाई अन्य देशमा व्यापारका लागि समेत बाटो खुलेको सहभागीको धारणा छ ।फागुन ५ गतेदेखि आज ९ गतेसम्म दुवईको वल्र्ड ट्रेड सेन्टरमा विभिन्न मुलुकमा उत्पादन भएका खाद्य तथा पेय पदार्थको प्रर्दशनी आयोजना गरिएको हो ।
नेपालको प्रतिनिधित्वका लागि सांसद योगेश भट्टराईको पहलमा कृषि वस्तु तथा निर्यात प्रबर्धन केन्द्रबाट स्टल बुकिङका लागि सहयोग भएको जनाइएको छ । केन्द्रले २० लाख रुपैयाँ सहयोग गरको थियो । अन्य खर्च कार्यक्रममा सहभागी सम्बन्धित संस्थाका प्रतिनिधि आफैले गरिरहेको महासंघका कोषध्यक्ष भट्टराईले बताए । प्रर्दशनीले अन्तर्राष्ट्रिय ब्राण्डहरुलाई उनीहरुको उत्पादन सामग्री विश्व बजारमा चिनाउन मद्दत गर्ने अपेक्षा लिइएको छ ।
कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै अलैचीँ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भट्टराई, कोषध्यक्ष भट्टराई र केन्द्रीय सदस्य निमेश मित्तल, चिया तथा कफी बिकास बोर्डका तर्फबाट डिल्ली गौतम, अदुवा उत्पादन व्यवसायी संघका तर्फबाट सन्जीव घिमिरे र नेपाल बोटल वाटर उद्योग संघका प्रतिनिधिले सहभागिता जनाएका छन् ।
४५ सय स्टल रहेको गल्फ फुड नाम दिएको प्रदर्शनी सन् १९८७ बाट सुरु भएको हो । त्यसयता १८० भन्दाबढी राष्ट्रका उत्पादन मुलक उद्योगहरुले सहभागिता जनाउँदै आएका छन् ।
Comments