नेपाल शैक्षिक परामर्श संघ ECAN को प्रेस विज्ञप्ती
Published:
by .अष्ट्रेलियास्थित अष्ट्रेलिया इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइविटी) मा अध्ययनरत नेपाली विद्यार्थीहरु सो कलेजलाई बन्द गरिदिने अष्ट्रेलियन क्वालिटी अथोरिटी (अस्क्वा)को निर्णयबाट समस्यामा परेको भन्ने विषयप्रति नेपाल शैक्षिक परामर्श संघ ECAN को गम्भिर ध्यानाकर्षण भएको छ ।
नेपाल शैक्षिक परामर्श संघ ECAN नेपालस्थित शैक्षिक परामर्शदातृ संस्थाहरुको सबैभन्दा ठूलोे व्यवसायिक छाता संगठन भएकाले उल्लेखित र यस्ता प्रकृतिका समस्याहरु प्रति हाम्रो स्वाभाविक एवम् गम्भीर चासो हुने विषय हो । ECAN ले आफ्ना सदस्य कम्पनीहरुलाई आफूले प्रवद्र्धन गर्ने विदेशी शैक्षिक संस्थाका विषयमा त्यसको सरकारी मान्यता, सम्बन्धन तथा स्विकृतिका सम्बन्धमा सुनिश्चित हुने तथा सोको यथार्थ सूचना सेवाग्राही विद्यार्थी तथा अभिभावकलाई औपचारिक रुपमा आपसी सम्झौताका माध्यमबाट गराएर मात्र परामर्श सेवा प्रदान गर्न बारम्बार निर्देशन गरेको तथा यस संघका सदस्य नरहेका परामर्शदाताहरुलाई पनि सोही अनुरुप सेवा प्रदान गर्न कडाई गर्न सम्बन्धित नियामक निकायसँग माग गरिरहेको विषय यहाँ पुनः दोहोर्याउन चाहान्छौं ।
हाल समस्याको रुपमा आएको एआईविटीसँग सम्बन्धित नेपाली विद्यार्थीहरुको अध्ययनको सुनिश्चितता एवम् मान्यता तथा लगानीको सुरक्षाका विषयमा, त्यसको समुचित समाधानका लागि नेपाल शैक्षिक परामर्श संघ ECAN को तर्फबाट निम्नानुसार पहलकदमी गर्ने प्रतिवद्धता सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गर्दछौं ।
१. अष्ट्रेलिया इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइविटी) मा सिर्जना भएको समस्याको सम्बन्धमा यस संघ निरन्तर रुपमा उक्त कलेजको सम्पर्कमा रहेको हुँदा विषयको यथार्थ वास्तविकताको पहिचान गर्न र कलेजसँग समन्वय गरी समस्याको यथासक्य चाँडो उपयुक्त समाधानको प्रयासमा क्रियाशील रहेको तथा रहने प्रतिवद्धता व्यक्त गर्दछौं ।
२. ECAN त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुको उनीहरुले पूरा गरिसकेको अध्ययन कार्यको उपयुक्त मान्यता (Proper Credit) को सुनिश्चितता तथा भइसकेको आर्थिक लगानीको सुरक्षा हुनु पर्दछ भन्ने मान्यता राख्दछ र उल्लेखित दुवै विषय सम्भव रहेको कुरा पनि स्पष्ट पार्न चाहन्छ ।
३. ECAN द्वारा समस्याको उपयुक्त समाधानका निमित्त नेपाल सरकार शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आवश्यक पहलकदमी गरिसकिएको छ र समस्या समाधान नभएसम्म यसको निरन्तरता हुनेछ ।
४. ECAN ले यसका अतिरिक्त नेपालस्थित अष्ट्रेलियन दूतावास, अन्य पेशागत संस्थाहरु तथा सम्बन्धित परामर्शदातृ कम्पनीहरुसँग सघन समन्वय र सहकार्य गरी अष्ट्रेलियास्थित नेपाली राजदूताबास, अन्तर्राष्ट्रिय विद्यार्थी संगठन काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्ट अष्ट्रेलिया CISA लगायत अन्य नेपाल र नेपालीसँग सम्बन्धित संघ–संस्थाहरुसँग नियमित सहकार्य गर्दै समस्याको उपयुक्त र छिटो समाधान खोज्न सहजीकरण गरिरहने छ ।
५. अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुसँग प्रत्यक्ष सरोकार राख्ने प्रचलित कानून र व्यवस्थाहरु जस्तै ESOS Act, National Code, TPS र यो सम्बन्धी हेर्ने अष्ट्रेलियन सरकारका सम्बन्धित निकायहरुले त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीहरुले बुझाउने शुल्क र अध्ययनको सुनिश्चितताका लागि प्रसस्त व्यवस्था गरेको हुँदा कानूनी उपचारका लागि स्वाभाविक रुपमा लाग्ने सामान्य समयावधि भित्र हाल समस्यामा परेका सबै विद्यार्थीहरुको (अरु विदेशी विद्यार्थीहरुको पनि) समस्याको उपयुक्त समाधान हुने विषयमा ECAN विश्वस्त छ ।
६. हाल उत्पन्न परिस्थितिबाट विद्यार्थी र अभिभावकमा पर्न गएको समस्या र असरका विषयमा हामी अत्यन्तै दुःखी भएका छौं तथा समस्याको उपयुक्त समाधान गर्न धैर्यताकासाथ आफूलाई परामर्श दिने नेपालस्थित परामर्शदाता र अष्ट्रेलिया स्थित कलेज (एआईविटी) तथा TPS कोसमेत नियमित सम्पर्कमा रहिरहन आग्रह गर्दछौं ।
७. अष्ट्रेलिया विश्वभरका विद्यार्थीहरुले रुचाएको शैक्षिक गन्तव्य मुलुक हो भने त्यहाँ जाने विद्यार्थी संख्याको आधारमा कुरा गर्दा नेपाल धेरै विद्यार्थी पठाउने मुलुकमध्ये तेश्रो स्थानमा पर्दछ । अष्ट्रेलियामा प्रचलित कानूनहरुले विदेशी विद्यार्थीहरुको हकहितको पक्षमा प्रशस्त व्यवस्था गरेको छ । अष्ट्रेलियास्थित नेपाली दूताबासले पनि त्यहाँको सरकारसँग पहल गरी रहेको तथा अष्ट्रेलियन सरकारसमेत समस्या समाधानमा सकारात्मक रहेको धारणा दूतावासको आइरहेको अवस्थामा आवश्यक कुटनीतिक पहलकदमीबाट नै यो समस्याको समुचित समाधान निस्कने अवस्था रहेको हुँदा नेपाली सञ्चार जगतलगायत अभिभावक तथा विद्यार्थीहरुलाई सतर्कताका साथ समस्या समाधानका लागि सहकार्य गर्न हामी आग्रह गर्दछौं । यो विषय प्रत्यक्ष वा परोक्ष रुपमा दुई देशबीचको कुटनीतिक सम्बन्ध तथा सौहाद्र्रताको दायरा भित्र नै पर्दछ र यो सम्बन्ध एवम् मित्रतालाई अझ मजवुत बनाउनु हामी सबैको दायित्व पनि हो । हाल समस्यामा परेका नेपाली विद्यार्थीहरु अष्ट्रेलियन सरकार स्वयंले प्रवेशआज्ञा (भिषा) दिएपछि मात्र त्यहाँ अध्ययनका लागि गएकाले यो विषय अष्ट्रेलियन सरकारको निमित्त पनि त्यति नै गहन छ भन्ने विषयलाई मनन गर्न हामी सम्बन्धित सबैमा अपील गर्दछौं ।
८. यस समस्याले नेपालस्थित शैक्षिक परामर्श व्यवसायीलाई फेरि एकपटक झक्झकाएको पक्कै हुनुपर्दछ । भलै हामीले व्यवसाय गरिरहेका छौं र ठीकै ढंगले काम गरिरहेका होलाउँ पनि, तर आफूले प्रवद्र्धन गरेको शैक्षिक संस्थाले सम्बन्धित देशबाट पाउनुपर्ने अनिवार्य स्विकृती, सम्बन्धन वा मान्यता नपाएर हाम्रा विद्यार्थी र अभिभावकलाई पर्न जाने आर्थिक क्षति, समयको बर्वादी, विद्यार्थीको भविष्यमा पर्न जाने असरलगायत सम्बन्धित सबैले भोग्नुपर्ने विभिन्न प्रकारका क्षतिको जिम्मेवारीको अंश हाम्रो पनि हुनेछ । तसर्थ शैक्षिक परामर्श व्यवसाय सञ्चालन गरिरहेका सबै परामर्शदाताहरुलाई नेपालस्थित प्रचलित कानूनको पूर्ण परिपालना गर्दै सम्बन्धित विदेशी शैक्षिक संस्थाको सम्बन्धन, स्विकृती तथा मान्यता समेतको पूर्ण सुनिश्चितता गरेर मात्र गुणस्तरीय एवम् पारदर्शीरुपमा परामर्श व्यवसाय सञ्चालन गर्न हामी जोडदार अपील गर्दछौं । धन्यवाद ।
रोशन शर्मा निरौला
अध्यक्ष, ईक्यान पूर्वाञ्चल
Comments