Sajhamanch Archive

७ बुँदे सहमति गर्दै राप्रपामा फर्कियो बोहोरा समूह

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । राप्रपा (प्रजातान्त्रिक) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री दीपक बोहोरासहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । आइतबार राप्रपा अध्यक्ष कमल थापाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता भएपछि बोहोरा असन्तुष्ट थिए । उनैको नेतृत्वमा असन्तुष्ट नेताहरु राप्रपा फर्किएका हुन् ।

पार्टी प्रवेश गर्दा राप्रपा र बोहोरा समूहबीच सात बुँदे सहमति पनि भएको छ । सहमति अनुसार राप्रपाको एकता महाधिबेशनबाट निर्णय भएको नीति, बिधान र नेतृत्व एकताको मुल आधार हुनेछ ।

यस्तै सम्बद्र्धनवाद राप्रपाको बैचारिक दर्शन हुनेछ । पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति पार्टीको बैचारिक आधारस्तम्भ हुने सहमतिपत्रका उल्लेख गरिएको छ ।

यसैगरी, राप्रपाको सिद्धान्त, नीति र आदर्शप्रति प्रतिबद्ध रहंदै नेपालको संविधानलाई उपयोग गर्ने तथा संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने पार्टीको नीति रहने सहमतिपत्रमा उल्लेख गरिएको राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पार्टी विभाजन हुँदा राप्रपा (प्रजातान्त्रिक) मा रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरु साविक बमोजिमको पदमा कायम रहने, अन्य सदस्य र पदाधिकारीहरु सहमतिको आधारमा थप गरिने पनि सहमतिमा उल्लेख छ ।

शनिबार मात्र  पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरासमेत रहेका राप्रपाका पूर्वमहामन्त्री जयन्त चन्दको नेतृत्वमा १४ केन्द्रीय नेताले राप्रपा छाडेका थिए ।

चन्दसँगै केन्द्रीय नेताहरु सहायक महामन्त्री भरत पाठक, कार्य सम्पादन समितिका सदस्यहरु प्रल्हाल साह, भरत गिरि र दिनेश श्रेष्ठले पनि पार्टी छाडेका हुन् ।

पार्टी छाेड्नेमा पूर्वसहायक महामन्त्री गोविन्द खनिया, केन्द्रीय सदस्यहरुमा सानुकाजी हेक्का, चिरागमानसिँह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेशबहादुर बिष्ट रहेका छन् । अन्य नेताहरुमा गजेन्द्रबहादुर सिँह, बिन्दा गिरि, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की, पूर्ण चौलागाईंले पनि पार्टी छाडेका छन् ।

जयन्त चन्द लगायतका नेताहरुले पार्टी छाेडेकै भोलिपल्ट दीपक बाेहाेराकाे टीम राप्रपामा भित्रिनुलाई राेचक मानिएको छ ।

यस्ता छन् सहमितका बुँदाहरु :

१) राप्रपा एकता महाधिबेशनबाट निर्णय भएको नीति, बिधान र नेतृत्व एकताको मुल आधार हुनेछ ।

२) सम्बद्र्धनवाद राप्रपा को बैचारिक दर्शन हुनेछ । पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति पार्टीको बैचारिक आधारस्तम्भ हुनेछ ।

३) राप्रपाको सिद्धान्त, नीति र आदर्शप्रति प्रतिबद्ध रहंदै नेपालको संविधानलाई उपयोग गर्ने तथा संविधान र संवैधानिक व्यवस्थासंग सहकार्य गर्ने पार्टीको नीति रहने छ ।

४) पार्टीलाई संस्थागत नेतृत्वको मान्यता अनुरुप संचालन गरिने छ । पार्टी भित्र आन्तरिक प्रजातन्त्रलाई सुदृढ तुल्याइनेछ । यस प्रयोजनको लागि केन्द्रमा पार्टी अध्यक्षको अध्यक्षतामा ११ सदस्यीय निर्देशन समिति गठन गरिने छ । पार्टीको महत्वपूर्ण नीति र अन्य विषयहरुमा निर्देशन समितिले आवश्यक निर्णय गर्नेछ ।

५) पार्टी विभाजन हुँदा राप्रपा (प्रजातान्त्रिक) मा रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरु साविक बमोजिमको पदमा कायम रहने छन् । अन्य सदस्य र पदाधिकारीहरु सहमतिको आधारमा थप गरिने छ ।

६) पार्टी विभाजन हुँदा कायम रहेका जिल्ला अध्यक्ष र पदाधिकारीहरु साविक बमोजिम कायम गरिने छ । विवाद भएको जिल्लामा निर्देशन समितिले आवश्यक निर्णय गर्नेछ ।

७) समान विचारधारा भएका राजनीतिक दलहरुसंगको एकता प्रयासलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *