Sajhamanch Archive

पारिजातको वार्षिकोत्सवमा सम्मानको लहर

Published: in राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । मेचीनगर ९, खुट्टीडाँगी क्षेत्रकै सफल शैक्षिक संस्था पारिजात पब्लिक स्कूलले आज आफ्नो १९औँ वार्षिकोत्सव सामाजिक अगुवाहरुलाई सम्मानसहित विविध कार्यक्रम गरेर मनाएको छ ।

विद्यालयमा आयोजित विशेष कार्यक्रमका बीच विभिन्न क्षेत्रबाट विद्यालयलाई योगदान पुर्याउने दर्जनौँ व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा पारिजात वर्ष उत्कृष्ट व्यक्तिको रुपमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी केन्द्रीय स्रोत व्यक्ति सङ्गीता थापा, पारिजात वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट लोकतन्त्र पोस्ट दैनिकका कार्यकारी सम्पादक झुलन रेग्मी, वर्ष उत्कृष्ट सामाजिक संस्थाको रुपमा स्वबोध साधना केन्द्रलाई सम्मान गरिएको छ ।

यसैगरी, वर्ष उत्कृष्ट शिक्षकहरुमा मावितर्फ पर्वत उप्रेती, निमावितर्फ निलम कट्टेल, प्रावितर्फ रिकेश बस्नेत र मन्टेश्वरीतर्फ दीक्षा भुजेललाई सम्मान गरिएको छ । सोही विद्यालयमा अध्ययन गरेर माथिल्लो तहमा पुग्ने पूर्व विद्यार्थीहरु जनकराज चापागाई, प्रिती कट्टेल, ज्योति साह र सविन पौडेललाई पनि सम्मान गरियो ।

यस्तै, पूर्व शिक्षक भेषराज दाहाल, पूर्व कर्मचारी जङ्गबहादुर खड्का, पूर्व अभिभावक कमला न्यौपाने, मीना पौडेल र नारायण काफ्लेलाई सम्मान गरियो । साथै, वर्ष उत्कृष्ट अभिभावकको रुपमा ईश्वरादेवी चापागाईंलाई सम्मान गरिएको थियो ।

विद्यालयले २०७३/०७४ को एसईई परीक्षमा उत्कृष्ट १८ जना विद्यार्थीलाई पनि सम्मान गरेको छ । यो वर्षको उत्कृष्ट विद्यार्थी अवार्ड अर्चन रिजालले पाएका छन् ।

खेलतर्फ दिलीप श्रेष्ठ, सलिन खड्का, नमन श्रेष्ठ, रोश्मीका भट्टराई सम्मानित भएका छन् । विद्यालयले एकसाता लगाएर विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत समेत गरेको थियो ।

वार्षिक उत्सवको अवसरमा विद्यार्थीले राष्ट्रिय गीत, आधुनिक तथा लोक गीतमा नृत्य गरेका थिए भने साना कक्षाका विद्यार्थीहरुले राइम्स, क्याटवाक लगायत प्रतिभा प्रस्तुत गरे ।

विद्यालयका प्रिन्सिपल बिनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, नेपाल शिक्षक महासङ्घ झापाका पूर्व अध्यक्ष तेजप्रसाद चौलागाईं, सम्मानित विद्यार्थी डा. ज्योति साह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शिक्षक निलम कट्टेल तथा टीका पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत विद्यालयका क्याप्टेन अर्चन रिजालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *