Sajhamanch Archive

भद्रपुरमा हात्तीपाइले रोगविरुद्ध साताव्यापी अभियान

Published: in स्थानीय तह, स्वास्थ्य by .

भद्रपुर । भद्रपुर नगरपालिका स्वास्थ्य शाखाले अन्तरक्रियात्मक रूपमा हात्तीपाइले (फाइलेरिया) रोग निवारण सम्बन्धी जानकारी गराएको छ । कार्यक्रममा तालिमप्राप्त स्वास्थ्यकर्मीहरुले वडाको प्रत्येक टोलमा पुगेर घरदैलो मार्फत हात्तीपाइलेको निःशुल्क औषधी खुवाइने जानकारी गराएका हुन् ।

विगत वर्षहरुमा महिला स्वास्थ्य स्वयम् सेविकाहरुले तीन दिनसम्म औषधि खुवाउने गरेकोमा यस वर्षदेखि स्थानीय सरकारको मातहत कार्यक्रम आएकोले ७ देखि १० दिनसम्म औषधी खुवाउने कार्यक्रम रहेको सो अवसरमा जानकारी दिइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुरका भेक्टर कन्ट्रोल अफिसर जीवनकुमार चौलागाईले बताए अनुसार अनुसार ७० वर्षमाथिका वृद्धवृद्धा, ७ दिनसम्मका सुत्केरी महिला, २ वर्ष मुनिका बालबालिका र दीर्घ रोगी बाहेकका सबैले व्यक्तिलाई यो औषधी अनिवार्य सेवन गर्नुपर्ने छ ।

हात्तीपाइले रोग विरुद्धको अन्तर्राष्ट्रिय मान्यता प्राप्त औषधीमा डिसी र अल्बेण्डाजोल भएकोले यसले स्वास्थ्यमा प्रतिकूल असर नगर्ने भेक्टर कन्ट्रोलर चौलागाईंको भनाई छ । जिल्लाभर अघिल्लो वर्ष ८२ प्रतिशतलाई औषधी सेवन गराइएकोमा यसवर्ष सोभन्दा माथि औषधी सेवन गराउने लक्ष्य रहेको उनले जनाए ।

जिल्लाको ८ लाखभन्दा बढी मानिसलाई औषधी खुवाउने अभियान सञ्चालनका लागि झापामा ५०० जना तालिमप्राप्त स्वास्थ्यकर्मी खटाइनेछ । भद्रपुर नगरपालिका नगर प्रमुख जीवनकुमार श्रेष्ठले हात्तीपाइले रोग सम्बन्धी औषधी सेवन गर्दा यसले स्वास्थ्यमा कुनै असर नगर्ने बताउँदै अभियानको क्रममा सबैले औषधी सेवन गरिदिन आग्रह गरे ।

यसैगरी, भद्रपुर नगरपालिका वडा नम्बर १० ले पनि हात्तीपाइले रोग सम्बन्धी छुट्टै प्रशिक्षण दिएको छ । वडाध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्यकर्मीले सरोकारवालालाई प्रशिक्षण गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *