Sajhamanch Archive

झापा गोल्डकपः सरोकारवालासँग वृहत् छलफल

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by .

बिर्तामोड । यही फागुन १८ गतेदेखि बिर्तामोडमा आयोजना गरिएको चौथो संस्करणको झापा गोल्डकप सम्पन्न गर्ने सम्बन्धमा आयोजक समितिले जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय सामाजिक संघसंस्थाहरुसँग आज छलफल गरेको छ ।

गोल्डकपको दिगोपना, सबैको सहभागितामा, अक्षयकोष लगायतका विषयमा वृहत छलफल गरिएको झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् । आयोजकको तर्फबाट छलफलको सहजीकरण गर्दै गिरीले गोल्डकपमा सबैको अपनत्व होस् र यहाँका स्थानीय संघ–संस्थाको पनि प्रत्यक्ष सहभागिता होस् भनेर छलफल आयोजना गरिएको बताए । त्यस्तै, उनले गोल्डकपको आकर्षण बढिरहेकाले यसलाई अझ व्यवस्थित बनाउन जरुरी रहेको बताए ।

झापा गोलडकपका संरक्षक जलकुमार गुरुङले झापा गोल्डकप नेपालकै उत्कृष्ट फुटबल प्रतियोगिता भएकाले यसको निरन्तरता जरुरी रहेको जिकिर गरे । झापा गोल्डकपलाई स्थायित्व बनाउन समाजका सबै पक्षको समान सहभागिता आवश्यक रहेको उनको भनाई छ ।

छलफल कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले आयोजक मजबुद भए प्रतियोगिता व्यवस्थित र सफल बन्ने धारणा राखे । उनले भने ‘भविष्यको योजना स्पष्ट हुनुपर्छ, आर्थिक पारदर्शिताले कार्यक्रम अझ दीर्घकालीन हुनेछ ।’ नगरपालिकाको तर्फबाट निर्वाहा गर्नुपर्ने भूमिकामा आफूहरु पछि नहट्ने नगरप्रमुख शिवाकोटीले प्रतिवद्धता जनाए ।

अर्का सहभागी संविधानसभाका सदस्य सुधीरकुमार शिवाकोटीले गोल्डकपको आकर्षण अत्याधिक रहेकाले व्यवस्थापन पक्ष महत्वपूर्ण हुने सुझाव दिए । उनले प्रचारप्रसारलाई महत्व दिँदै त्यसका लागि राजनीतिक दल पनि परिचालित हुनुपर्ने बताए ।

सो छलफलमा कांग्रेस नेता देउमान थेवे, नेकपा नेता शिव ढुङ्गेल, राजपाका नेता सूर्यनारायण गणेशले गोल्डकपलाई यो मेरो आफ्नै प्रतियोगिता हो भन्ने सोच्न आग्रह गर्दै सबै राजनीतिक दलहरुलाई समेट्न सुझाव दिए ।

त्यस्तै, नेकपा बिर्तामोड नगर अध्यक्ष ज्ञानु प्रसाईं, अरुण श्रेष्ठ, कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौला, राप्रपा बिर्तामोड नगर अध्यक्ष शंकर रिजाललगायत राजनीतिक दलका प्रतिनिधिले आआफ्नो सुझाव राखेका थिए ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश राई, ट्राफिक प्रहरी निरीक्षक ढुण्डीराज गिरीले खेल अवधिभर बिर्तामोड–बिर्ताबजार खण्डको यातायात एकतर्फी बनाउने हो भने सवारी साधनको चाप कम हुने सुझाव दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *