Sajhamanch Archive

‘चुनाव जितेपछि म जनताको प्रतिनिधि सबैको काम सरोबर गरिरहेको छु’

Published: in अन्तर्वार्ता, समाज, स्थानीय तह by .

सूर्यप्रसाद कन्दङवा, बिर्तामोड नगरपालिका वडा नं. ६ का वडाध्यक्ष । नेपाली कांग्रेसबाट टिकट पाएर वडाध्यक्ष पदमा चुनाव लड्दा नेकपा एमालेका उम्मेदवार गणेश कन्दङवालाई उहाँले १९३ मतले पराजित गर्नुभएको थियो । कांग्रेसको पार्टी सदस्य भएको छोटो समयमा नै जनप्रतिनिधि बन्ने अवसर पाउने थोरैमा उहाँ पनि एक हुनुहुन्छ । तेह्रथुमको छातेढुङ्गामा जन्मिनु भएका वडाध्यक्ष कन्दङवा २०४२ सालदेखि बिर्तामोड ६ बुट्टाबारीमा बसोबास गर्नुहुन्छ । वडाध्यक्ष भएपछि जनअपेक्षा अनुसारका केही कामहरु गर्न पाउनु भयो कि छैन भन्ने सन्दर्भलाई जोडेर साझामञ्चकर्मी सञ्जु शिवाकोटीले उहाँसँग कुराकानी गर्नुभएको छ ।

तपाई निर्वाचित हुनु भएको लगभग २० महिना भयो । यो अवधिमा के कस्ता कामहरु सम्पादन गर्नुभयो ?

जननिर्वाचित भएको २० महिनाको अवधिसम्म नगरपालिकाबाट आएको बजेटलाई सुनिश्चितताका साथ विकास निर्माणमा लगानी गर्दै आएको छु । विकास निर्माण काम गर्दा पनि यहाँ क्रियाशील सम्पूर्ण पार्टीका प्रतिनिधि साथीहरुसँग सल्लाह गरेरमात्र गरेका छौं । कस्ता ठाउँमा विकास बजेट खर्च गर्दा यो वडा बन्दछ भनी सरोकारवालाहरुसँग छलफल गरेर र राजनीतिक दलहरु बीचमा बसेर निर्णय गरेरमात्रै काम गर्दै आएका छौं ।

मेरो नेतृत्वमा रहेको यो वडाको विकास निर्माणको अवधारणा फराकिलो भयो भने मात्र भावी दिनको विकास सुनिश्चित हुन्छ भनेर काम गरिरहेका छौं । यसले विकासको निम्ति भोलिका लागि मार्गप्रशस्त गर्दछ भनेर लागेका छौं । त्यसैको निर्णय र समन्वयका लागि काम गरिरहेको छु । अरु दैनिक प्रशासनिक कामहरु त सबैले गर्ने नि हो ।

निर्वाचन घोषणापत्रमा उल्लेख गरेको कुराहरु पनि पूरा गर्दै हुनुहुन्छ कि ! अहिलेसम्म के के गरे जस्तो लाग्छ ?

अहिलेसम्म जे जति गरेको छु निर्वाचन घोषणापत्रको पूर्णताका लागि गर्दैछु । अझै गर्दै जाने हो । साढे ३ वर्षको अवधिमा गर्ने कामहरु बाँकी नै छन् । विकासको सम्बन्धमा कुरा गर्दा अहिलेसम्म बाटोलाई प्राथकिता दिएका छौं । वडा नं. ६ का सम्पूर्ण बाटोहरुमा सहजताका साथ हिंडडुल गर्न सकिने बनाइएको छ । पूल, कलभर्टहरु करिब–करिब निर्माण भइसकेका छन् । अब एउटा पूल बनाउनु पर्नेछ ।

मेरो वडाभरि धेरै ठाउँमा खानेपानीको व्यवस्था गरिसकेका छौं । हाम्रो वडाको सीमामा जंगल रहेकाले विशेषतः जंगली हात्तीको आतंक छ । यसबाट स्थानीय बासिन्दालाई जोगाउन, गाउँमा हात्ती छिर्न नदिन जंगलको वरिपरी बिजुली बत्तीको व्यवस्था गरिएको छ । यस्तै हात्ती गाउँ प्रवेश गर्न लागेको जानकारी गराउन भनौं र वा हात्तीलाई धपाउन भनौं, साइरनको व्यवस्था गरिएको छ ।

सहरी स्वास्थ्य केन्द्र वडामा नै खोलिएको छ । यहाँका ज्येष्ठ नागरिकहरुलाई निशुल्क उपचार गरिदिने गरी आजमात्र पनि आँखा शिवीर सञ्चालन भइरहेको छ । शिक्षाको क्षेत्रमा उज्यालो छर्नेगरी काम भइरहेको मैले ठानेको छु । हाम्रो वडामा एउटा सामुदायिक माद्यमिक विद्यालय छ । ५–६ सय विद्यार्थीहरु त्यहाँ अध्ययनरत छन् ।

यहाँको शिक्षाको स्तर माथि उठाउनु पर्छ भन्ने अवधारणाले अघिल्लो आर्थिक वर्षमा १६ लाख रुपौयाँ छुट्टाइएको थियो भने चालू आर्थिक वर्षमा २६ लाख छुट्टाइएको छ । स्कूल बन्दैछ, बन्ने क्रममा छ । यसरी हेर्दा मैले चुनावमा घोषणा गरेका कार्यक्रमहरुको सेरोफेरोमा रहेर विकास निर्माणका कामहरु गर्दैछु भन्ने लाग्छ ।

आर्थिक वर्ष २०७५/०७६ मा के कस्ता कार्यहरु गर्न योजना बनाउनु भएको छ ?

बाटो बन्दै गर्दा, बिजुली विस्तार हुँदै गर्दा वा खानेपानीमा वडाबासीको पहुँच हुँदै गर्दा र शिक्षालयहरुबाट राम्रो शिक्षा प्रदान गर्दामात्रै समृद्धि हुँदैन । वडाले यिनको मात्र संरक्षण गरेर पुग्दैन । यहाँका आमजनतालाई स्वावलम्बी बनाउन व्यवहारिक सीप र शिक्षा दिलाउनु पर्छ भन्ने उद्देश्यले विभिन्न ठाउँमा सिलाई बुनाई तालिम, उद्घोषण तालिम गराउने लक्ष्य छ । योसँगै विभिन्न जातजातिका पहिचान झल्किने ड्रेस सिलाउने, विभिन्न धार्मिक समुदायको मठ मन्दिरको संरक्षण गर्ने योजनाहरु अघि सारेको छु ।

नगरपालिकाको बोर्डमा नेकपाको बाहुल्यता छ, तपाईं नेपाली कांग्रेसबाट विजयी प्रतिनिधिले काम गर्दा कतिको साथ र सहयोग पाउनु भएको छ ?

हामीले जुन दिन चुनाव लड्दै थियौं, सो समयमा राजनीतिक दलको प्रतिनिधि भएर अरु दलका प्रतिनिधिसँग चुनाव लडेका हौं । तर जब चुनावबाट विजय प्राप्त गरियो तब आफू दलको प्रतिनिधिभन्दा पनि जनताको प्रतिनिधि भएका छौं । चुनाव जितेपछि म जनताको प्रतिनिधि भएकाले सबैको काम सरोबर गर्छु ।

अनि नगरपालिका बोर्डले पनि जनताको काम गर्ने मान्छेलाई पाखा लगाउने कुरा नै भएन । चुनाव जितेका व्यक्तिहरुले चुनाव हारेका वा प्रतिपक्षको साथ र सहयोग लिएर काम गर्नुपर्ने हुन्छ । नगरपालिका बोर्डमा मेरो वडाको विषयमा आवश्यक बजेट छुट्याउँदा होस् वा अन्य विषयमा विभेद गरेको छैन ।

अन्त्यमा वडाबासीलाई केही भन्नु छ कि !

पहिलो धन्यवाद तपाईंलाई जसले साझामञ्चमार्फत् मेरो वडाका कामहरु वडाबासीसहित देशबासीसम्म पुर्याउन सहयोग गर्नुभयो । मैले जनप्रतिनिधि भएर काम गर्दा कुनै कमजोरी गरेको भए सच्याउन सहयोग गर्नुहुनेछ । हाम्रो वडाका चारजना सदस्यहरु सबै एक्टिभ हुनुहुन्छ । सबैजनाको क्रियाशीलताले बिर्तामोड ६ नं. वडालाई समृद्ध बनाउन पहल गरिरहेका छौं । तपाईं सबैबाट साथ र सहयोगको अपेक्षा पनि राख्दछौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *