हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्य आजदेखि सुरु
Published:
by .झापा । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तरगत आज झापाका १५ वटै स्थानीय तहसहित मुलुकका १५ वटा जिल्लामा निशुल्क औषधी खुवाउने अभियान सुरू भएको छ ।
बिर्तामोड नगरपालिकाको प्राङ्गणमा आयोजित औषधी खाने खुवाउने कार्यक्रमको नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले गरेका छन् । कार्यक्रममा नगरप्रमुख शिवाकोटीले आफैंले हात्ती पाइले विरुद्धको औषधी खाएर अभियानको सुरुवात गरेका हुन् ।
सो अवसरमा नगरप्रमुखले भने, “मानिसलाई कुनै पनि रोग लाग्न नदिन बालबालिकालाई औषधी खुवाउने कार्यलाई नेपाल सरकारले अवलम्बन गरेबाट रोगी बिरामीको संख्या घट्तै गएकोले हात्ती पाइले रोगबाट बच्न पनि औषधी सेवन गर्न आव्हान छ ।’
कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत पशुपति खतिवडाले निशुल्क औषधी वितरणको औचित्य प्रष्ट्याएका थिए ।
सो अवसरमा कनकाई अस्पतालका डा।चन्दन लगरवारले हात्ती पाइले रोग लाग्ने कारण तथा उपचारका बारेमा जानकारी गराएका थिए । अभियान उद्घाटन कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले गरेका थिए ।
यसैगरी भद्रपुर नगरपालिकाको नगर स्वास्थ्य शाखाले १० नम्बर वडा कार्यालयमा हात्तीपाइले रोग विरूद्धको औषधी खुवाएको छ ।
१० वडा नम्बर कार्यालयमा आयोजित शुभराम्भ कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख दिनेशराज मैनाली, जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बराललगायतले एकसाथ हात्तीपाइले रोग विरुद्घको औषधी खाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
जनस्वास्थ्य कार्यालयका कूलबहादुर पौडेलले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै झापाका १५ वटै स्थानीय तहका प्रत्येक टोल टोलमा घैरदैलो पुगेर तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले औषधि खुवाउने बताए । विगत बर्षहरुमा महिला स्वास्थ्य स्वयम सेविकाहरुले तीन दिनसम्म औषधि खुवाउने गरेकोमा यसवर्ष स्थानीय तहहरुले सात देखि १० दिनसम्म औषधी खुवाइने बताइको छ ।
७० वर्षमाथिका जेष्ठ नागरिक, ७ दिनसम्मका सुत्केरी महिला, २ वर्ष मुनिका बालबालिका र दीर्घ रोगीहरू बाहेक झापामा ८ लाख व्यक्तिलाई औषधी खुवाउने लक्ष्य लिएको जनाइएको छ । कार्यक्रमको सञ्चालन भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख पुष्कर निरौलाले गरेका थिए ।
Comments