Sajhamanch Archive

झापा गोल्डकपः विजेतालाई १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पाउने

Published: in खेलकुद, मुख्य समाचार by .

बिर्तामोड । झापा गोल्डकपको चौथो संस्करणका लागि मुख्य प्रायोजक मगमग तयारी चाउचाउसँग बुधबार सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । पत्रकार सम्मेलनका बीच मगमग तयारी चाउचाउ उत्पादकका तर्फबाट बुद्धि घिमिरेसहित झापा गोल्डकप आयोजकहरुले हस्ताक्षर गरेका हुन् ।

बताइएअनुसार मगमगले गोल्डकप सञ्चालनका लागि ८ लाख रुपैयाँ उपलब्ध गराउनेछ भने झापा ११ फुटबल क्लवको प्रवद्र्धनका लागि वार्षिक ६ लाख रुपैयाँ उपलब्ध गराउनेछ । योभन्दा पहिले रमपम तयारी चाउचाउले झापा ११ फुटबल क्लवको प्रवद्र्धनका लागि वार्षिक रकम प्रदान गर्दै आएको थियो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा १८ फागुनदेखि २७ सम्म सञ्चालन हुने चौथो संस्करणको प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार तथा उपविजेता टोलीले ६ लाख ५ हजार रुपैयाँ पाउने निर्णय भएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उल्लेख छ ।

प्रतियोगितामा आयोजक झापा–११ फुटबल क्लबसहित देशभरिका ९ वटा क्लब र हङकङको एउटा टोली हङकङ नेप्लिज एकाडेमीको सहभागिता रहने झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले पत्रकार सम्मेलनमा बताए ।

प्रतियोगितामा आयोजक झापा–११, तीन विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बल र नेपाल पुलिसका साथै मनाङ मरस्याङ्दी क्लब, थ्री स्टार, मोरङ–११, रुपन्देही फुटबल क्लब, सहारा क्लब पोखरा र हङकङको टिमको सहभागिता रहनेछ ।

यस वर्ष मस्ट भ्यालुएवल प्लेयरलाई एउटा मोटरसाइकल प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले बताए ।

यसैगरी, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद १५ हजार रुपैयाँ पा्रदान गरिनेछ । विगत वर्षहरुमा झैँ चौथो संस्करणको उद्घाटन समारोहमा झापाका दुईजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिने तय भएको छ ।

यसैगरी खेल सञ्चालन हुने डोमालाल राजवंशी रंगशालाका जग्गादाता परिवारलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिने जनाइएको छ । यो रकम हरेक वर्ष गोल्डकप उद्घाटनका दिन प्रदान गरिने पत्रकार सम्मेलनमा बताईयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *