Sajhamanch Archive

एसईईमा पास गराउन विद्यालयले रकम मागे

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । एसईई परीक्षामा विद्यार्थी पास गराउन भन्दै जाजरकोटको विद्यालयले रकम मागेको अभिभावकले गुनासो गरेका छन् ।

एसईई उतीर्ण गराउन विद्यार्थीलाई चिट चोराउनुपर्ने र त्यसका लागि पैसा चाहिने भन्दै हरेक विद्यार्थीबाट २५ सयदेखि तीन हजार रुपैयाँ रकम मागिएको अभिभावकले गुनासो गरेका छन् ।
छेडागाड नगरपालिका–५ को भाग्योदय माविमा विद्यार्थीहरुलाई कसरी पास गराउने भन्ने विषयमा बैठक नै बसेको थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कर्णबहादुर चदारा, प्रधानाध्यापक शान्तबहादुर शाही र १० भन्दा बढी अभिभावक बैठकमा सहभागी थिए ।

बैठकमा सहभागी एकजना अभिभावकले अनलाइनखबरसँग भने, ‘चिट चोरेर पास हुने भए २५ सयदेखि ३ हजार रुपैया“ चाहिन्छ भनियो । कतिपयले हुन्छ पनि भने । कतिपयले हाम्रा छोराछोरी फेल भए होउन्, तर पैसा दिन सकिँदैन भने ।’
‘एसएलसी परीक्षा आएपछि जाजरकोटमा पहिले पनि यसरी पैसा उठाइन्थ्यो । अहिले पनि उठाउन थालिएको छ,’ स्थानीय दीर्घबहादुर रावतले भने ।

विद्यालयका प्राधानाध्यापक शान्तबहादुर शाहीले भने परीक्षालाई व्यवस्थित बनाउनका लागि छलफल गरेको बताए ।
स्थानीय तहबाटै परीक्षा सञ्चालन गर्नुपर्ने भएकोले केही रकम आवश्यक पर्ने र उक्त रकम विद्यार्थीबाट नभई नगरपालिकासँग माग गरिएको प्रधानाध्यापक शाहीले बताए ।

छेडागाड नगरपालिकामा रहेका माध्यमिक विद्यालयका प्राधानाध्यापक र मेयर लालबहादुर महतारा सहितको बैठकमा नगरपालिकाले एक परीक्षा केन्द्रलाई ५० हजार रकम दिने प्रतिबद्धता जनाएको उनको दावी छ ।

‘बैठकमा हामीले परीक्षा व्यवस्थित गर्नका लागि नगरपालिकासँँग ५० हजार मागेका छौं,’ उनले भने, ‘मेयरले आवश्यक रकम नगरपालिकाले दिने र विद्यार्थीलाई मर्का पर्ने काम गर्न नपाइने बताउनुभयो ।’

छेडागाडका १४ विद्यालयका छात्रछात्राले एसईई परीक्षामा सहभागिता जनाउँदैछन् । उनीहरुका लागि चारवटा परीक्षा केन्द्र तोकिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका शिक्षा समन्वय अधिकारी सुधिन बुढाथोकीले स्थानीय तहमै शिक्षाका कर्मचारी पुगिसकेकोले परीक्षा मर्यादित हुने बताए ।

नयाँ संरचना अनुसार जिल्लामा कर्मचारी नभएको भन्दै उनले सम्बन्धित स्थानीय तहकै निगरानीमा परीक्षा मर्यादित हुने विश्वास लिएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *