Sajhamanch Archive

‘विप्लव’ समूहको गतिविधीलाई सरकारले गम्भीर रुपमा लिएको छौं ; नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री दाहाल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

विराटनगर । नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका गतिविधीलाई व्यवस्थापन र नियन्त्रण गर्न दुईवटा विकल्प अवलम्बन गरिने बताएका छन्।
विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले ‘विप्लव’ समूहको गतिविधीलाई सरकारले गम्भीर रुपमा लिएको बताए।
‘विप्लवबाट उत्पन्न समस्या समाधान गर्न राजनैतिक र प्रशासनिक दुवै विकल्प अबलम्बन गर्न सकिन्छ’, दाहालले भने, ‘यस विषयमा छलफल भइरहेको छ। राजनैतिक रुपले सहमतिमा ल्याउन हदैसम्म प्रयास गरीरहेका छौं। सहमतिमा नआए प्रशासनिक कदम पनि चाल्न सकिन्छ।’
ठूलो संघर्ष र बलिदानपछि संविधान बनेको र बामपन्थीको सरकार भएका बेला कसैले हस्तक्षेप र असफल बनाउने प्रयास गर्छ भने त्यो अतिवाद बाहेक केही हुन नसक्ने पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष दाहालले बताए। ‘अतिवादलाई नियन्त्रण गर्न सरकारले गम्भीर भएर सोच्नु पर्छ र सोचेको पनि छ’, उनले भने, ‘सेना समायोजनका बेला चोरी भएका केही हतियार विप्लवका नेता कार्यकर्ताले बाहिर निकाल्न थालेका छन्।’ त्यसबेला हतियार व्यवस्थापन र सेना समायोजन मौलिक रुपमै हुने तयारी भइरहँदा ‘क्यान्टोनमेन्ट’ भएका केही हतियार चोरी भएको उनले बताए।
दाहालले पछिल्लो समय चर्चामा आए जस्तो मन्त्रीमण्डल पुर्नगठन गर्ने विषयमा प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी ओलीसँग छलफल नभएको बताए।
दाहालले भने, ‘अहिले नै मन्त्री मण्डल परिवर्तन हुनसक्ने सम्भावना पनि छैन।’ राजपासँग भने छलफल हुने गरेको उनले जानकारी दिए। ‘उपेन्द्र यादवसँग भएको तीन बुँदे सहमतिमा आवश्यकता अनुसार संविधान संशोधन हुने कुरा उल्लेख छ’, दाहालले भने, ‘राजपासँग पनि संविधान संशोधनका बेलामा सहमति हुन सक्छ।’
राजपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने विश्वास उनले व्यक्त गरेका छन्। दाहालले मुलुकमा बामपन्थी नमिलुन् र संविधान नबनोस भनेर सक्रिय एउटा समूह अहिले संविधान कार्यान्वयन नहोस भनेर लागिरहेको दावी गरे। ‘मुलुकमा स्थिरता नचाहने समूहलाई परास्त गर्दै सरकार काम अगाडि बढाइरहेको छ’, उनले भने, ‘मुलुकमा बाम गठबन्धन र पार्टी एकता हुन नदिने शक्ति कुनै न कुनै हिसावमा सक्रिय छ।’
सो अवसरमा दाहालले मुलुकलाई विकास, निर्माण र समृद्ध बनाउन सफल हुने दावी पनि गरे। ‘सरकारका पछिल्ला निर्णय र कामले यसलाई पुष्टि गरिसकेको छ’, उनले थपे। पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओली मंगलबार पूर्व आउने र दुबै जना काठमाडौं फर्किएपछि पार्टी एकताका बाँकी काम टुँगोमा पुर्‍याइने दाहालले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *