चैत ३ देखि बाग्मतीबाट २२ मेगावाट विजुली
Published:
by .काठमाडौं । मकवानपुरमा नेपाली व्यवसायी र चिनियाँ कम्पनीको ४ अर्ब रुपैयाँको लागतमा बनेको हाइड्रोपावरले चैत ३ गतेबाट परीक्षण उत्पादन थाल्ने भएको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिका ८ मा निर्माण भइरहेको बाग्मतीखोला साना जलविद्युत आयोजनाले हाल ‘ड्राइ टेस्ट’ गरिरहेको छ । काठमाडौंबाट बगेर गएको पानीलाई सदुपयोग गर्दै आयोजनाले २२ मेगावाट विद्युत् उत्पादन हुन लागेको हो । परीक्षण उत्पादन सुरु भएको १५ दिनपछि व्यवसायिक रुपमा नै राष्ट्रिय प्रसारण लाइनमा आवद्ध गर्ने गरी हाल प्राविधिक परीक्षणको काम भइरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।
माण्डु हाइड्रोले निर्माण गरेको यो आयोजनामा विद्युत् उत्पादनका लागि चाहिने प्रतिसेकेन्ड १२ दश्मलब ४ क्युसेक पानी पठाउने गरी ३ दश्मलब ७ मिटर चौंडा र ३ दश्मलब ८ डायोमिटर रहेको २ हजार ४ सय ४१ मिटर लामो हेडरेष्ट टनेल बनाइएको छ ।
हाइड्रोका लागि आवश्यक ३ सय १३ मिटर लामो ग्रेसहेड टनेलको निर्माणसहित सभिल, पावरहाउस, पेनस्टकको काम नेपाली कम्पनी एसिएन इन्फ्रास्ट्रक्चर प्रालिले १ अर्ब २९ करोड रुपैयाँमा गरेको हो ।
हाइड्रोले सिस्नेरी दोभानमा संकलन गरेको पानी टनेलमार्फत इपापञ्चकन्याको बेसीबगरमा पुर्यादै विद्युत उत्पादन गर्नेछ । ०७२ जेठबाट निर्माण थालेको हाइड्रोले प्राधिकरणको ६६ केभी प्रशारण लाइनमा उत्पादन जोड्नका लागि ४४ वटा टाबर निर्माणको काम सकिएको छ ।
प्राधिकरणको प्रसारण लाइनमा उत्पादन स्थलबाट १४ किलोमिटर टाढा रहेको छ । ‘रन अफ रिभर’ प्रणालीको आयोजनामा ५५ मिटर लामो ड्याम निर्माण गरिएको छ ।
बागमतीको पानी सिस्नेरी दोभानमा ड्याम बनाई कुलेखानी, बाग्मती र कोगटेको पानी छेकेर सुरुङमार्फत इपाको बगरबेसीमा विद्युत् उत्पादन गरिँदैछ ।
ड्याम र पावर हाउसबीचको दुरी साढे दुई किलोमिटर रहेको छ । हाइड्रोमा चाइनाको से च्वाङ हे च्वाङ, नेपालको हिमालयन इन्फ्रास्ट्रक्चर फन्डले लगानी गरेको छ भने मकवानपुरको माण्डु हाइड्रोपावर कम्पनीले प्रवर्द्धकको काम गरिरहेको छ ।
हाइड्रोको इलेक्ट्रो मेकानिकालको काम चाइनिज कम्पनी सीडब्लुटीडव्लुले गरेको हो । कम्पनीमा नेपालीको ५१ र चिनियाँको ४९ प्रतिशत शेयर रहेको छ ।
यस्तै हालै कास्कीमा बिन्दबासिनी हाइड्रोले निर्माण गरिरहेको रुदी ‘ए’ जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ । ८।८ मेगावाटको यो आयोजनाको विजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिइसकेको छ । फागुन १९ बाट परीक्ष्ण उत्पादन थालेको आयोजनाले यसको १५ दिनपछि व्यवसायिक उत्पादन थाल्ने प्रवक्ता अधिकारीले जानकारी दिए ।
Comments