Sajhamanch Archive

‘विप्लव’का दुई नेतालाई पक्राउ , राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको मुद्दा

Published: in विविधा by .

रोल्पा, २२ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रोल्पा जिल्लाका दुई नेतालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।
पक्राउ गरिएका नेता टीकाराम नेपाली र लाल बहादुर सुनारलाई राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको मुद्दासहित मंगलबार जिल्ला अदालतमा हाजिर गराएको हो ।
सोमबार पक्राउ परेका उनीहरुलाई १० दिन म्याद थपका लागि अदालतमा लगिएको प्रहरीले जनाएको छ । केही हप्ताअघि जिल्लाको सुलिचौर र गजुलमा रहेको नेपाल टेलिकम र एनशेलको टावरमा आगजनी गरिएपछि नेकपाका नेता कार्यकर्ताको खोजीमा प्रहरी सक्रिय रहकै बेला उनीहरु पक्राउ परेका हुन् ।
देशभरका दर्जनौं एनशेल टावरमा आगजनी र विष्फोट गराउने क्रममा यहाँका दुई टावरमा आगजनी गरी क्षति पु¥याइएको थियो । एनसेल टावरलाई लक्षित गरिएको भए पनि झुक्किएर सुलिचौरमा नेपाल टेलिकमको टावरमा आगजनी भएको स्रोतले जनाएको छ । टावरमा आगजनी गरिएको नेकपाले जिम्मा लिइसकेको छ । नेपाली र सुनारलाई निजी काममै रहेको बेला प्रहरीले पक्राउ गरेको नेकपाले जनाएको छ ।
पक्राउ परेका दुबैजनालाई राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक दीपक खड्काले जनाए । टेलिकम र एनशेल टावरमा आगजनी घटनासँग जोडेर मुद्दा अघि बढाइएको स्रोतको दावी छ ।
नेकपा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ले आफ्नो पार्टीको जिल्ला नेताको गिरफ्तारीको विरोध गर्दै विज्ञप्ति जारी गरेका छन् । निजी काममा रहेका बेला विना कारण प्रहरीले गिरफ्तार गरेको भन्दै रिहाइको माग समेत गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *