नारी दिवसको सार्थकतबाारे अग्रणी महिलाहरुका विचार
Published:
by .आज १०९औं अन्तर्राष्ट्रिय नारी दिवस । अन्तर्राष्ट्रिय महिला दिवस अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । हरेक वर्ष ८ मार्चमा यो दिवस विश्वभर मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका विषयहरू बन्ने गरेका छन् । यो दिवस सर्वप्रथम १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । यही सन्दर्भमा झापाका केही महिला नेतृहरुसँग हामीले नारी दिवसको सार्थकता र सान्दर्भिकताका बारेमा कुराकानी गरेका छौं ।
प्रस्तुत छ उहाँहरुका धारणा जस्ताको तस्तैः
सुशिला ढकाल, सभापतिः नेपाल महिला संघ झापा
आजको दिनमा नारी दिवस मनाइरहँदा, नारी दिवस मनाउँदैमा, वर्षमा एकदिन विभिन्न कार्यक्रम गर्दैमा नारीलाई हुने विभेदको अन्त्य हुँदैन भइरहेको छैन । अहिले त झनै महिलाले असुरक्षित महसुस गरिरहनु परेको छ । गाउँदेखि शहरसम्म बालिकादेखि बृद्धासम्म बलात्कृत हुनु परेको छ । यो सबै देख्दा र सुन्दा महिलाले मान्छे चिन्ने, छरछिमेकी चिन्ने र सचेतना अपनाउनु पर्ने अवस्था आएको छ । पुरुषहरुले पनि आफ्नो चेलीबेटी र अरुको चेलीबेटीलाई समानरुपमा सोच्नु पर्छ । आजको सामाजिक वास्तविक परिस्थितिलाई हेरेर महसुस गरेको छु । र, जसले महिला माथि हिंसा गरेको हुन्छ त्यस्ता व्यक्तिलाई कडाभन्दा कडा सजाय दिएको खण्डमा मात्र नारी दिवसले सार्थकता पाउँछ ।
पवित्रा मतहरा प्रसाईं, उपप्रमुखः बिर्तामोड नगरपालिका
सन् १९०६ मा क्लारा जेटकिनले महिलाहरुको माग राखेर एउटा प्रस्ताव गरिन्, जुन प्रस्तावमा महिला हकहितको लागि थियो । जुन पक्षलाई राज्यले व्यवस्था गर्नुपर्छ भन्ने थियो । त्यतिखेरदेखि सुरु भएको महिला दिवस अहिलेसम्म पनि मनाइँदैछ । नेपालको हकमा भन्ने हो भने महिला र पुरुष समान हो भनिन्छ तर पनि समान व्यवहार गरिरहेको पाइँदैन । छोरा रातको १२ बजे घर पुग्दा वास्ता नगर्ने आमाबुवा छोरी १० मिनेट ढिलो हुँदा प्रश्न खडा हुने समाज अझै देख्न सकिन्छ । यति हुँदाहुँदै पनि महिलाले पनि धेरै प्रगति गरेको देख्न सकिन्छ । त्यतिलेमात्र पुग्दैन । सबै महिलाहरु अगाडि बढ्नु पर्यो । आफ्नो अधिकारको लागि लड्नु पर्यो । आफ्नो पहिचान बनाउनु पर्यो । रातको १२ बजे सडकमा निस्कँदा सुरक्षित महसुस हुनुपर्र्यो । कामको मूल्यांकन हुनु पर्यो । अनिमात्र नारी दिवसको सार्थकता हुन्छ ।
सरु भुर्तेल खनाल, अध्यक्षः विर्तालेडी जेसीज २०१९
नारी दिवस महिलालाई सम्मान दिनका लागि मात्रै मनाइएको नभई नारीको क्षमताको पहिचान र मूल्यांकन गरिनु हो । नारी विनाको समाजले कहिल्यै पनि पूर्णता प्राप्त गर्न सक्दैन । त्यसमाथि आज नारी खुला आकाश मुनि आफ्नो दक्षता र पौरखको बलमा आफूलाई स्थापित गर्न सफल भइसकेका छन् । तर कतिपय अवस्थामा उनीहरुको सही मूल्यांकन र पहिचान भएको पाइँदैन । यो टिठलाग्दो परिस्थितिको अन्त्य गर्न पनि नारी दिवसलाई पर्वका रुपमा स्वीकार गर्न आवश्यक छ । समाजको सबै रंग तबमात्र सबैको नजरमा पर्दछ, जब नारीले पहिचान पाएको अवस्था यथार्थमा परिणत हुन्छ । त्यसैले पनि नारी दिवस स्वीकार्य हुनुपर्दछ । समाज रहिञ्जेल नारी दिवसको सान्दभिकता ओइलाउन नदिनु समाजका हरेक वर्गको दायित्व हो । यही नै विकसित समाजको आवश्यकता पनि हो ।
अम्बिका श्रेष्ठ, प्रधानाध्यापकः देवी मावि बिर्तामोड
हरेक महिलाहरुको सम्मानमा यो दिवस विश्वभर मनाउने गरिन्छ । समाजका अग्रसर, शिक्षित महिलाहरुलाई मात्र होइन हाम्रो समाजमा रहेका अशिक्षित, पिडित, घरेलु हिंसाबाट पीडित, पारिवारिक सिमित घेराभन्दा बाहिर आउन नसकेका, आफ्नो आवाजहरु गुम्स्याएर राख्न बाध्य महिलाहरुलाई आफ्ना अधिकार खोज्न हौसला प्रदान गर्ने दिनका रुपमा यो दिवसलाई महत्वपूर्ण मानिन्छ । यो दिनले महिलाहरुको हरेक पाइलाहरुमा सफलता हासिल गर्न, पुरुष सरह अवसर प्राप्त गर्न, समान हैसियतमा महिलाहरुले आफ्नो पहिचान र इज्जत प्राप्त गर्न, हौसला बढाउन सक्ने भएकाले यो महत्वपूर्ण मानिन्छ । वास्तवमा यस दिवसले हाम्रो समाजलाई झक्झकाउन सफल भएर नै होला, पहिलेको परिवेशभन्दा परिवर्तन हुँदै नार्रीहरु समाजमा आफूलाई स्थापित गर्न सफल भएका छन् ।
भिमा शिवाकोटी, उपाध्यक्षः नेपाल पत्रकार महासंघ झापा
प्रत्येक वर्ष मार्च ८ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवस कुनै उत्सव नभएर उत्पिडित महिलाहरुको लैङ्गिक विभेद विरुद्धको संघर्ष हो । सन १९०६ मा सम्पन्न महिलाहरुको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनले क्लारा जेटकिनलाई सेक्रेटरी बनायो । त्यसपछि १९०८ मार्च ८ का दिन अमेरिकाको सिकागो शहरमा महिलाहरुले समान अधिकारको माग राख्दै हड्ताल र विशाल जुलुस प्रदर्शन गरे । महिला र पुरुषबीच समान ज्याला हुनुपर्छ भन्ने माग राख्दै आन्दोलन गरे । त्यसैको स्मरण तथा महिला अधिकारको संघर्षको दिनको रुपमा ८ मार्चलाई महत्वपूर्ण ढङ्गले मान्ने गरिएको छ ।
नेपाली महिलाहरुलाई शसक्त बनाउने पाटाहरुको खोजी गर्दै यो दिवस मनाउन थालेको करिव तीन दशक भएको छ । लैङ्गिक समानताको लागि समान सोच र व्यवहारः “समृद्धिको आधार” भन्ने मूल नाराका साथ यो वर्ष स्थानीय तहसँगै विभिन्न सामाजिक संघ–संस्थाले १०९औ अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका छन् । वास्तवमा यो दिवसको सार्थकता र महत्व धेरै छ । धेरै क्रान्तिहरुको उपलब्धी कै कारण नेपालले पनि महिलालाई राष्ट्रपति पाएको छ भने सभामुख र प्रधानन्यायाधीश बन्ने अवसर पनि महिलाले पाएका छन् । राज्यका हरेक निकायमा महिलाको अनिर्वाय उपस्थिति हुनुपर्ने जस्ता नीतिहरु निर्माण भएको हुँदा अहिले महिलाहरुको सहभागिता राज्यका निकायदेखि सामाजिक संघ–संस्थामा पनि बढ्दो क्रममा छ ।
यी सबै कुरा महिलाले प्राप्त गर्नु भनेको आन्दोलनका उपलब्धीहरु हुन् । तथापी पुरातनवादी सोच र पुरुषवादी मानसिकतामा अझै पनि शुद्धिकरण गर्न जरुरी छ । ग्रामिण परिवेश र शिक्षाको उज्यालोबाट बञ्चित महिलाहरुमाझ भने महिलामुक्ति विषयसँग जोडिएको नारी दिवसले प्रभाव जमाउन अझै सकेको पाइँदैन ।
निता घतानी, सदस्यः अनेरास्ववियु केन्द्रीय कमिटी
हामीले १०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस राम्रोका लागि सन्तुलन (balance for batter) भन्ने अन्तर्राष्ट्रिय नारा र लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिका आधार भन्ने राष्ट्रिय नाराका साथ मनाइरहेका छौं । हामीकहाँ शहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरुको उपस्थितिमा यो दिवस मनाउँदै गरिएको अवस्थामा छ्र । नेपाली समाजमा महिलाहरुको आधाभन्दा ठूलो संख्या छ । ग्रामिण समाजमा अझै कति महिलालाई महिलाहरुको दिवस पनि छ भन्ने कुरा थाहा छैन । त्यो वर्गका महिलाले यस दिवसको सार्थकता र महत्वको त कुरै छाडौ, आधारभूत कुरासमेत जान्न र बुझ्न पाएका छैनन् । तसर्थ आम नेपाली महिलाहरुको अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ र यसको महत्व जान्ने वातावरण बन्न सक्यो भने निश्चय पनि यसको सार्थकतामा बढोत्तरी हुनेछ ।
सुस्मा राजवंशी, समाचार प्रमुखः रेडियो सनराइज बिर्तामोड
अहिलेको अवस्थामा नारी दिवस मनाउने कुरा चाहिँ औपचारिकतामा मात्रै सीमित हुनु हो जस्तो लाग्न थालेको छ । किनकी नारी दिवसलाई भब्य बनाइन्छ तर यही समाजमा नारीमाथि दैनिकजसो बलात्कार, अन्याय र हिंसाजस्ता घटनाहरु भइरहेका छन् । अनि त्यस्ता घटनालाई राजनीतिक पहुँचको र पैसाको बलमा दबाउने गरिएको पाइन्छ । अनि यही दबदबाकर्ताहरु, तिनै स्वनामधान्य ठूलाहरु (?) देखावटीरुपमा नारी दिवसमा ठूलो स्वरमा नारी उत्पीडन विरुद्ध भाषण गर्न अग्रसर हुन्छन् । नारी अधिकारका लागि आवाज उठाउने ती व्यक्तिहरुले जबसम्म सच्चा मनले कसैको दबाबमा नआई नारी हिंसाका अपराधीलाई सजाय दिन आँट गर्छन् र नेपाली समाजलाई बल प्रदान गर्छन् नि ! हो त्यो दिन नारी दिवसले सार्थकता पाउने छ ।
Comments