Sajhamanch Archive

कविता : सुरूवात अर्को 

Published: in शिक्षा, by .

सीमानामा पहरेदार भै रहँदा 

मनका तह तह जल्दा पनि 

भावनाका लाप्सासँगै 

आफ्ना रहरहरु खरानी हुँदा 

अरूको अस्तित्वको लागि 

तिमीले कैलेसम्म जल्न पर्छ ?

 

आफ्ना स्वप्निल ,मधुमास रातहरू

भिजेका सिरानीसँगै

चिसिएका हर सपना साक्षी राखी 

प्रहर प्रहर मर्दै 

तिमीले कहिलेसम्म गल्न पर्छ ?

 

इतिहासको ब्याज खाँदै 

वर्तमान धितो राखी 

उही पुरानो गोर्खा अनि

खुकुरीको सान भजेर 

आफूलाई  चिनाउन 

कैले सगरमाथा 

कैले बुद्धलाई 

तिमीले कति बेच्न पर्छ ?

 

आफ्नो बाँझो पाखा पखेरा 

पसिनाको थोपा थोपाले 

भविष्य लेख्न सुझाउँदा 

बारुद भरिएका कलमले क्षत बिक्षत 

परेका घाउ सुम्सुमाउँदै

रिमिटयानको रापले सेक्दै 

तिमीले कति बाँच्न पर्छ ?

 

सक्छौ भने उठ 

उठाउ शिर 

खिया लगेका सिरुपाते टल्काएर

नयाँ वर्तमान  ब्युझाउन 

 

एउटा आयाम सबैले थालौँ

जहाँ अन्याय अत्याचारले

कहिले शिर उठाउन नसकोस्।

 

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *